रमेश लम्साल/सिबी अधिकारी (रासस):
काठमाडौं, असार २ । भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाईमार्ग उपलब्ध गराउन सहमत भएको छ ।
नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीनदिने छलफलकाक्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नेपाल र भारतबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा भएको द्विपक्षीय छलफलमा सहमति भएपनि केही विषयमा भने अध्ययन जरुरी देखिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उडान सुरक्षालगायतका विषयमा थप अध्ययन गरी नयाँ हवाईमार्ग उपलब्ध गराउन भारतीय अधिकारी सहमत भएको उल्लेख छ ।
गत जेठ ३१ देखि सुरु भएको द्विपक्षीय वार्ता एक दिन लम्बिएर शनिबार सम्पन्न भएको हो ।
द्विपक्षीय छलफलमा भारतीय अधिकारी जनकपुर–पटनाबीचको एकतर्फी हवाईमार्गलाई दुईतर्फी बनाउन सहमत भएका छन् । तर, उडान सुरक्षा मूल्यांकन गरी सो को आधारमामात्रै नयाँ मार्ग लागू गरिने भएको छ ।
यस्तै, पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि हाल सन्चालनमा रहेको काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्षको सहमतिमा उडान सुरक्षा मूल्यांकन गरी लागू गरिने भएको छ ।
पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौं–जनकपुरबीचको हवाईमार्गसमेत दुईतर्फी बनाउने सहमति भएपनि त्यसमा उडान सुरक्षा मूल्यांकनको आधारमा सो मार्गमा वायुयान प्रवेश गर्नसक्ने व्यवस्था मिलाइने भएको छ ।
ठोस सहमति हुने र नेपालले माग्दै आएको हवाई प्रवेश विन्दुकाबारेमा भारतीय अधिकारीले सहमति जनाउने अपेक्षा गरिएको थियो । तर, सबै मार्गमा प्राविधिक मूल्यांकन गर्ने विषय राखिएको छ ।
निर्माणाधिन गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलमा बढी उचाइमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानका लागि नेपालगन्ज तथा महेन्द्रनगरबाट प्रवेशमार्ग उपलब्ध गराउनुपर्ने नेपालको प्रस्तावमा भारतीय अधिकारीले प्राविधिक मूल्यांकन गर्नुपर्ने विषय उठाएका थिए ।
तर, सो मार्गकाबारेमा भने सन् २०१८ को सेप्टेम्बरभित्र विस्तृत् प्राविधिक मूल्यांकन गर्ने सहमति भएको छ ।
नेपालले पूर्वदेखि पश्चिम महेन्द्रनगरसम्मका सात प्रवेश विन्दु दिन भारतसँग माग गर्दै आएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र भारतको ‘एअरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई) प्रतिनिधिबीच भएको वार्तामा नेपाली पक्षका तर्फबाट प्राधिकरणका उपमहानिर्देशक एवं एअर नेभिगेसन प्रमुख नरेन्द्रबहादुर थापा र भारतीय पक्षको नेतृत्व एअर नेभिगेसन प्रमुख एके दत्ताले गरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक राजन पोखरेलले महेन्द्रनगरको उचाइको मार्ग र नेपालगन्ज प्रवेश गर्ने थप मार्ग उपलब्ध गराउन आग्रह गरेको भएपनि सेप्टेम्बरसम्म पर्खनुपर्ने भएको छ ।
उडान सुरक्षाका विषयमा अध्ययन गरेरमात्रै सो मार्ग प्रयोगकाबारेमा द्विपक्षीय सहमति हुने जनाइएको छ ।
थप मार्गका विषयमा सहमति भएपनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले स्वीकृति दिनुपर्ने भएकाले अझै केही समय लाग्ने देखिएको छ ।
छलफल सकारात्मक भएपनि नेपालले माग्दै आएको थप हवाईमार्गकाबारेमा भने अझै केही समय प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।
नेपाल प्रवेश गर्ने एउटामात्र हवाईमार्गका कारण भोग्नुपरेको जटिलताले वायुसेवा प्रदायक कम्पनीले थप व्ययभारसमेत व्यहोर्नुपरिरहेको छ ।
सिमराको आकाशबाटमात्रै अन्तर्राष्ट्रिय वायुसेवाका जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरेका छन् ।
गत चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भारत भ्रमण र गत वैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमणकाक्रममा थप हवाईमार्ग उपलब्ध गराउने विषयमा भएको सहमतिका आधारमा दुई देशका हवाई अधिकारीको बैठक भएको हो ।
भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण भइरहेको र आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो विमानस्थल सन्चालनका लागि थप हवाईमार्गमा सहमति हुन जरुरी छ ।
भारतले हवाईमार्ग नदिँदा सो विमानस्थलमा जहाज उडान तथा अवतरणका लागिसमेत समस्यापर्ने देखिन्छ ।
यस्तै, बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलमासमेत जहाज उडान तथा अवतरणका लागि भारतको आकाश प्रयोग गर्नुपर्ने बाध्यता छ ।
हाल भारत हुँदै आएका विमान एउटा विन्दुबाटमात्र नेपाल प्रवेश गर्छन् । भारत, हङकङ, थाइल्यान्ड, बंगलादेश, मलेसिया, सिंगापुरलगायतबाट आउने जहाज सिमरानजिकै रहेको रोमियो केन्द्र भएर प्रवेश गर्ने गरेका छन् ।
नेपालबाट बाहिरिनका लागि भैरहवा, भीमदत्तनगर, सिमरा, जनकपुर र विराटनगरको आकाश प्रयोग गर्नुपर्छ ।
चीनबाट नेपाल भित्रिने जहाज भने सगरमाथा केन्द्र हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।
थप हवाईमार्गकाबारेमा सहमति हुने जनाउँदै नेपालको निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एअरले नेपालगन्ज–दिल्ली उडान गर्ने तयारी गरेको छ ।
सरकारले हाल सन्चालनमा रहेका विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थलबाट भारतीय सहरमा उडान गर्ने लक्ष्यसमेत राखेको छ । सो लक्ष्य कार्यान्वयनका लागि थप हवाईमार्गको जरुरी छ ।
भारतका प्रधानमन्त्री मोदीको भ्रमणकाक्रममा भएको छलफलपछि जारी १६ बुँदे संयुक्त विज्ञप्तिमा हवाईमार्गको विषय समेटिएको छ ।
सहमतिमा नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले आ–आफ्ना देशका प्राविधिक टोलीसँग छलफल गरी निष्कर्षमा पुग्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्