
नवीन शर्मा र भरत केसी (इमेज)
काठमाडौं, वैशाख ९ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’ले मजदुर वर्गको जनजीवन सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ ।
लकडाउनको अवधि लम्बिँदै जाँदा जीविकोपार्जन गर्न गाह्रो भएपछि उपत्यकाभित्र रहेका मजदुरहरु राजमार्ग हुँदै आ–आफ्नो घर फर्कनेक्रम चलिरहेको छ । कतिपय ८–१० दिन लगाएर घर फर्किरहेका छन् ।
सरकारले यसअघि चैत २८ र २९ गते दुई दिन उपत्यकाबाहिर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि प्रदेश सरकारको दबाबपछि उक्त निर्णय फिर्ता पनि भएको थियो ।
लकडाउनको समयमा जीविका चलाउन गाह्रो भएका मजदुरलाई स्थानीय सरकारले नै व्यवस्थापन गर्ने भनिएपनि राहत नपाएको गुनासो बढ्दै गएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसले उनीहरुको दैनिक जीविकोपार्जनका लागि विशेष कार्यक्रम अघि ल्याउन आग्रह गरेको छ ।
ट्रेड युनियन कांग्रेसका उपसभापति राजेन्द्रजंग कार्कीले मजदुरको रोजीरोटीबारे ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।
सरकार उनीहरुको समस्याप्रति गम्भीर नभएको गुनासो ट्रेड युनियनले गरेको छ ।
ट्रेड युनियन कांग्रेसले रोजगारदाताहरुले नै मजदुरको समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ ।
तर, लकडाउन लम्बिँदै जाने हो भने मजदुरको मासिक तलब पनि रोकिन सक्ने चेतावनी रोजगारदाताहरुबाट आउन थालेको ट्रेड युनियन कांग्रेसका उपसभापति कार्की बताउँछन् ।
डेढ–दुई महिना मुलुकमा विषम परिस्थिति आयो भन्दैमा मजदुरलाई अप्ठ्यारो पार्ने काम सरकार र रोजगारदाता दुवैबाट गर्न नहुने ट्रेड युनियनले आग्रह गरेको छ ।
यता, सरकारले भने मजदुरहरु पैदलयात्रा गरेर घर फर्कने वातावरण मिलाइदिने भनेपनि सरकारबाट यो विषयमा प्रभावकारी काम हुन सकेको छैन ।
लकडाउनले मजदुर वर्गमा ल्याउने समस्याप्रति सरकारको ध्यान तत्काल जानु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्