२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


चट्याङ लागेर चारजना घाइते


0
Shares

गाईघाट, बैशाख ९ । गएराति आएको हावाहुरी र चट्याङका कारण चारजना घाइते भएका छन् भने जिल्लाका विभिन्न स्थानका करोडौँको आँप, लिची र केराजस्ता फलफूल बालीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ११ देखि १२ बजेसम्म परेको चट्याङले जिल्लाका विभिन्न स्थानमा चारजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरका अनुसार जिल्लाको कटारी नगरपालिका ११ बेतिनीमा रातमा सुतिरहेका दम्पतीद्वय ५० वर्षीय चन्द्रबहादुर मगर र ४८ वर्षीय मनकुमारी मगर चट्याङका कारण घाइते भएका छन् ।

यस्तै कटारी नगरपालिका–६ रिस्कुमा पनि गएरातिको चट्याङबाट रिस्कुका १२ वर्षीय आसमान राई सख्त घाइते भएका छन् भने राईको घरमा चट्याङका कारण बाख्राको पनि मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–५ दमौटीका २७ वर्षीया सुसमा मगर पनि सुतेको अवस्थामा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ ।

ट्याङबाट घाइते भएकाको अहिले कटारी अस्पताल र जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी प्रमुख बुढामगरले बताए ।

यस्तै गएरातिको हावाहुरीले त्रियुगा, बेलका र चौदण्डी नगरपालिका क्षेत्रका करोडौँ मूल्यको फलफूलहरु आँप, लिची र केरा खेतीमा क्षति गरेको छ ।

त्रियुगा नगरपालिकाका खैजनपुर, जोगिदह क्षेत्रमा भर्र्खरै फल लाग्दै गरेको आँप र लिचीमा क्षति पुगेको जोगिदहका स्थानीय नारायण ढकालले बताए ।

यस्तै यस क्षेत्रमा धेरै केराका बोटसमेत हावाहुरीले ढालेको अर्का स्थानीय राजनारायण चौधरीले बताए ।

चौदण्डी नगरपालिकाको हँडिया र सिवाई सुन्दपुर क्षेत्रमा पनि भर्खरै फल लागेको आँप र लिचीमा हावाहुरीले खसालेर क्षति पु¥याएको छ भने धेरै केराका बोट लडाएको हँडियाका स्थानीय विष्णु चौधरीले बताए ।

जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, भागलपुर क्षेत्रमा पनि हावाहुरीको कारण आँप र लिचीको फलमा क्षति पुगेको छ भने धेरै केरा बगानका केरा ढालेको भागलपुरका सविन्द्र राईले बताए । रासस