३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


काठमाडौंबाट रित्तै फर्कियो अमेरिकी जहाज, श्रीको सिंगापुर उडान सर्‍यो


0
Shares

काठमाडौं, वैशाख ९ । केही ‘कूटनीतिक’ सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ ।

कूटनीतिक सामग्री ल्याइएको भनिएको उक्त जहाजले करिब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ ।

कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन ।

अमेरिकी जहाज मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर मंगलबारै अमेरिका फर्किएको हो ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायुसेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको बताए ।

अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौंबाट भने रित्तै फर्किएको छ ।

श्रीको सिंगापुर उडान सर्‍यो

यसैबीच, स्वास्थ्य सामग्री लिन श्री एअरलाइन्सको ‘चार्टर्ड’ जहाज मंगलबार सिंगापुर उडान भर्ने तालिका रहेपनि उडान हुन सकेन ।

श्रीको जहाज आगामी बिहीबार सिंगापुर उड्ने कम्पनीले जनाएको छ । यसअघि, गत शुक्रबार उडान गर्ने योजना विफल भएको थियो ।

पुनः मंगलबारका लागि उडानतालिका थियो । तर, अन्तिम समयमा उडान रोकिएको छ ।

केही कूटनीतिक प्रक्रिया पूरा नभएकाले मंगलबार उडान हुन नसकेपनि बिहीबार उडान हुने श्री एअरलाइन्सले जनाएको छ ।

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत् सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन लागेको हो ।

श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत् निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको हो ।

श्री एअरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो । रासस