सोलुखुम्बु । सोलुखुम्बुमा निर्माण सम्पन्न अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले खुलाएको आइपीओका लागि करिब १८ करोड रुपैयाँ मूल्य बराबरको आवेदन परेको छ ।
आयोजनाले प्रभावित क्षेत्र सोलुदूधकुण्ड नगरपालिकाका बासिन्दाका लागि निश्कासन गरेको आइपीओमा १८ लाख कित्ता अर्थात १८ करोड रुपैयाँ मूल्य बराबरको आवेदन परेको हो ।
प्रभावित क्षेत्रका लागि कम्पनीले गत बैशाख २२ गतेदेखि जेठ ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका १३ करोड ५० लाख बराबरको १३ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको प्रवर्द्धक कम्पनी एनएमबी क्यापिटलले जनाएको छ ।
तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि समय थप गर्दै जेठ २० गतेसम्म पु¥याएको थियो ।
अहिले बैंकिङ प्रणाली मार्फत प्राप्त सेयर आवेदनको कागजात रुजु गर्ने काम भइरहेकाले आगामी असार पहिलो साताभित्रमा बाँडफाँड गरिसक्ने कम्पनीले जनाएको छ ।
२३.५ मेगावाट क्षमताको उक्त आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यस आयोजनामा नेपालकै पहिलो सेडिकन प्रविधिको डिसेन्डर प्रयोग गरिएको छ ।
नदी प्रवाहमा आधारित आयोजनाको तल्लो भागमा १७० मिटर लामो टनेल, तीनसय नौ मिटर ‘लो प्रेसर’ र चारसय मिटर ‘हाइ प्रेसर’ पेनस्टक पाइप छ ।
विद्यत् गृहमा ११.७५ मेगावाट विद्युत् उत्पादन गर्ने दुईवटा जेनेरेटर रहेको आयोजनाबाट वार्षिक १३२.५ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ ।
आयोजनामा लक्ष्मी बैङ्कको नेतृत्वमा आठवटा बैङ्क र एउटा जलविद्युत् लगानी तथा विकास कम्पनी गरी ७५ प्रतिशत लगानी गरेका छन् भने २५ प्रतिशत कम्पनीको रहेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभीको सोलु कोरिडोर अन्तरगत लाम्मानेमा सबस्टेसनमा जडान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्