काठमाडौं । सुन्धाराको नामले परिचित नेपालकै कान्छो लुँ हिति संकटमा परेको छ । अर्बौं खर्चेर पुनःनिर्माणको नाममा नयाँ धरहरा बनाइरहँदा सँगै रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको लुँ हिति भने दुराअवस्थामा पुगेको छ ।
‘स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरासुन्दरी देवीले धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम्’ उल्लेख गरिएको पुरातात्विक महत्वको लुँ हिति हो ।
सुनको मोलम्बा लगाइएको मकर मुखाराकृति लुँ हिति नेपालकै कान्छो हिति हो ।
करिव दुई रोपनी चार आनाको हिति संरचना मौलिक कलाकृतिसहित चारओटा तहमा निर्माण गरिएको छ । क्षेत्रफल र संरचनाको आधारमा यो सबभन्दा ठूलो हिति हो । विगतमा उतरतर्फ तीनवटा हिति, पूर्व र पश्चिममा पाँचवटा हिति थिए । तर, अहिले उत्तरपट्टी तीनवटा सुकेका हिति मात्र छन् ।
हिति संरक्षणका लागि राखिएको गुथीको २५ रोपनी १२ आना जग्गासमेत गायब भएको छ । विसं १९०२ को एक लालमोहरमा सुनको पञ्चधारासहित हितिको उचित रेखदेख गर्न गोकर्ण र पाटनमा जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको र कुलमानसिंह बस्न्यातमार्फत लालमोहर बुझाएको विवरण छ ।
२०७२ सालको महाभूकम्पपछि सर्वसाधारणको पहुँचबाट टाढा रहेको हिति नयाँ धरहरा निमार्णपछि त झनै संकटमा परेको छ । अर्बौं रुपैयाँमा नयाँ धरहरा बन्दै गर्दा लुँ हिति भने दुरावस्थामा पुगेको छ । हिति, धरहरासहित चारैतिरबाट ठूला भवनहरूले घेरिएको छ ।
यसको पुरै संरचनामा झारपात झाँगिएर खण्डहरमा परिणत भएको छ । सुनको हितिहरू खुइलिएको छ । अन्य ऐतिहासिक सामग्री छरपस्ट छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हितिको पनि पुनःनिर्माण गर्ने भनिए पनि प्राधिकरणको अन्त्यसँगै त्यो अध्याय पनि समाप्त भएको छ ।
सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर सुनको हितिले विगतको वैभव सम्झाएको भन्दै अहिले वेवास्ता गरिनु दुःखद भएको बताउनुहुन्छ ।
सोही क्षेत्रका वडाअध्यक्ष चिनीकाजी महर्जन प्राधिकरणसँगको सहमतिअनुरुप हितिको पुनः निर्माण हुनुपर्ने बताउनुहुन्छ । शहरी विकास मन्त्रालयकको छलफल भइरहेको भन्दै नभए संघर्ष गर्ने उहाँको चेतावनी छ । अभियन्ता तुलाधर हितिलाई परम्परागत शैलीमा पुनजीवित गर्न सकिने दावी गर्नु हुन्छ ।
हितिलाई महानगरले पनि पुनःनिर्माण गर्न सक्ने वडाध्यक्ष महर्जनको भनाइ छ । पुनःनिर्माणको नाममा दातृराष्ट्रबाट प्राप्त रकमले नयाँ धरहरा बनाउनु तर सँगै जोडिएको मुल्यवान हिति बेवास्ता हुन पुर्खा र ऐतिहासिक मुल्यको धज्जी उडाउनु जस्तै हो ।
तसर्थ कुनै पनि हालतमा लुँ हितिको संरक्षण र पुनःनिमार्ण हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्