Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


156
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले केही पुराना र महत्वाकांक्षी योजनाहरु ल्याएको छ ।

‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकमा सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर ल्याईएको नीति तथा कार्यक्रममा राप्ती उपत्यका दाङमा प्रदेशको स्थायी राजधानी व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, प्राविधिक जनशक्ति उत्पादन र विकास गर्न लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना, रामपुर-कपुरकोट सडक लाई प्रादेशिक गौरवको आयोजनाका रुपमा विकास गरी कार्यान्वयन गरिने उल्लेख छ ।

यस्तै, नीति तथा कार्यक्रममा नौमुरे बहुउद्देश्यीय जलाशययुक्त परियोजनालई संघीय सरकारसंगको समन्वयमा अघि बढाउने, लगानीमैत्री वातावरण निर्माण,उत्पादन र उत्पादकत्व वृद्धि पुर्वाधार निर्माण, खानेपानी र विद्युतमा पहुुच, रोजगारी सिर्जना, गरिबी न्यूनिकरण र सुशासनलाई प्रवद्र्धन गर्ने प्राथमिकतामा राखिएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर वृहत बुद्ध सर्किट तथा प्रदेशका सबै जिल्लाका पर्यटकीय गन्तव्य जोडिने गरी ऐतिहासिक बाइसे चौबिसे पर्यटकीय सर्किट अघि बढाइने, गौतमबुद्ध विमानस्थलमा प्रदेशका पहिचान झल्किने खालका स्थानीय उत्पादन विक्रिका लागि नीजी क्षेत्रलाई कोशेली घर सञ्चालन गर्न दिने, प्रदेशका प्रमुख शहरहरु जोड्ने रुटहरुमा विद्युतीय बस सञ्चालन गर्न यातायात कम्पनी स्थापना गर्ने योजना अघि सारेको छ ।

यस्तै, एक स्थानीय तह एक नमूना कृषि वन, एक जिल्ला एक नमूना जडिबुटी उत्पादन, बेरोजगारलाई रोजगार साथमा छ प्रदेश सरकार अन्तर्गत गरिखाने कार्यक्रम, डिजिटल प्रदेशको आधार हात हातमा प्रदेश सरकार, समृद्धिका लागि सञ्चार अभियान सञ्चालन, प्रदेश चलचित्र विकास बोर्ड गठन, एकीकृत भौगोलिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन, नागरिकका गुनासा सुन्न हेल्लो मुख्यमन्त्री कक्ष सञ्चालन, एक स्थानीय तह, एक वन नर्सरी लगायतका कार्यक्रम समेटिएका छन् ।