विचारभन्दा माथि देश ! राजीनामाभन्दा सन्याश बेश !! « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


विचारभन्दा माथि देश ! राजीनामाभन्दा सन्याश बेश !!


117
Shares

लेखको शीर्षक कुनै अनाम मान्छेको फेसबुक वालबाट लिइएको हो । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले स्थानीय चुनावमा पार्टीले आशातीत सिट संख्या जित्न नसकेको भन्दै पार्टी अध्यक्षका हैसियतले हारको जिम्मेवारी स्वीकारेर राजीनामा दिएका छन् । अतः ‘रायम’ (अनुप्रास) मिल्ने शीर्षक सोही सन्दर्भमा भनिएको हो ।

‘विचारभन्दा माथि देश’ बास्तवमा रवीन्द्रज्यूको वाणी झट्ट सुन्दा उत्ति नराम्रो लाग्दैन तर एकान्तमा जब सो वाक्यांशकोे अन्तर्यमा पसी वेभ लेन्थमा गएर भाव विचार गरिन्छ अनि सो भनाइ भद्दा मात्र नभई चरम् अव्यवहारिक नै लाग्छ ।

देश, भावनात्मक एकताको पुञ्ज हो भन्ने कुरा चेतनशील नेपाली नागरिकहरूलाई स्पष्ट ज्ञात छ, जो सकल नागरिकहरूको परिश्रम, सीप र उत्पादनसँग सोझैँ गाँसिएको हुन्छ । यो देशको भूगोल, जनसंख्या र प्राकृतिक स्रोत साधनहरूको लेखाजोखा गर्ने हो भने यति थोरै जनसंख्यालाई यहाँ उत्पादन हुने अन्न, फलफूल, तरकारी र दलहनले पर्याप्त पुग्छ मात्र ती उत्पादित वस्तुहरूको वैज्ञानिक र उचित वितरण, बजारीकरण र मुनाफासहित विक्रीमा समूचित सहयोग स्थानीय तहले गर्न सक्नुगर्‍यो । ७ सय ५३ पालिकाका वडा कार्यालयहरूबाट अब त्यसको निरन्तर नियमन हुनु जरूरी छ । बस्, त्यति नहुनाले जनताले दुःख बेसाइरहनु परेको छ ।

कहिलेकाहीँ आफ्नो क्षेत्र नचिन्नाले व्यक्तिले त दुःख पाइरहेको हुन्छहुन्छ उता उसको विचार र कार्यबाट देशले समेत अनाहकमा पाउँन सास्ती पाउँछ । यो कुरा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रमा लागू भएको देखियो ।उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौँ महानगरपालिकामा विवेकशीलकी रञ्जु दर्शना र साझाका उम्मेदवार किशोरविक्रम थापासँग चुनावी तालमेल गर्दै एकजनालाई मात्र साझा उम्मेदवारका रूपमा उठाइदिएर महानगरपालिकाको मेयर हत्याउन सकिएको भए अहिले विवेकशील साझा स्थापित पार्टीका रूपमा देशव्यापी भइसक्ने थियो र जसले भारतमा आम आदमी पार्टीले झैँ यहाँका ठूला पार्टीहरूलाई क्रमशः साइड लगाउँदै हुन्थ्यो । पत्रकार रवीन्द्र मिश्रज्यूको दिमागमा त्यति कुरा घुसेन अतः उनले त दुःख पाएपाए लाखौं युवाहरूको समपनामा समेत पानी फेँकियो ।

राजनीतिमा कहिलेकाहीँ दूरगामी भविष्यका लागि दुस्साहसपूर्ण निर्णयहरू समेत लिनुपर्छ भने कहिले तात्कालिक फाइदा मात्र विचार्दै आफ्नो वर्चश्व रक्षाका लागि विचार मिल्नेमिल्ने पार्टीबीच गहिरो एकता, सहकार्य र गठबन्धन गर्नुपर्छ । गत स्थानीय निर्वाचनमा मिश्रको पार्टी सो निर्णय गर्न नसक्दा यसपाली उनका भोटरहरू काठमाडौँमा बालेन शाह र धनगढीमा गोपी हमालतर्फ मोडिएकै हुन् । जब वैकल्पिक राजनीतिको मियो धर्मरायो तब तेस्रो विचारले फाइदा लिन सफल भएको हो ।

फेरि काठमाडौँका मतदाताहरू अस्थिर र क्विक डिसिजन गर्नेखाले छन् जसलाई आफ्नो पकडमा लिइराख्न नयाँनयाँ समसामयिक टेक्निकहरू लगाउनु पर्ने हुन्छ त्यो लगाउन मिश्रज्यूले सक्नुभएन । अर्को कुरा उहाँले २०७५ मा संघीय निर्वाचनका बेलासमेत नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिँहसँग करिब ८ सय ९१ मत हाराहारीमा पराजय व्यहोर्नु प¥यो । मिश्रले यी दुवै राजनीतिक ट्याक्टिस् होश पु¥याउन नजान्दाका परिणामहरू हुन् । संघीय चुनावमा काठमाण्डौँमा उनले एक नम्बर र दुई नम्बर क्षेत्रमा ‘गिभ एन्ड टेक’ गर्न सक्नु पर्दथ्यो ।

एक क्षेत्रमा सफल भएको व्यक्ति अर्को क्षेत्रमा सफलै भैहाल्छ भन्ने छैन । प्रकृतिले कुनैकुनै व्यक्तिलाई मात्र बहुप्रतिभाशाली हुने योग्यता दिन्छ । रवीन्द्र मिश्र पत्रकारिता, समाजसेवा र लेखनमा सफल व्यक्तित्व हुन् । ती ३ क्षेत्रमा सफल भएर पनि उनी राजनीतिमा भनेजति जम्न सकेनन् । आदर्शपनलाई बँचाउन जुन भूमिका उनले अहिले खेलेका छन् त्यो भने स्तुत्य रहेको छ ।
नेपाली काँग्रेसले दोहो¥याएर मेयर र उपमेयर तथा अध्यक्ष तथा उपाध्यक्षमा टिकट दिएका पुराना उम्मेदवारहरूमध्ये कूल ४० सिट गुमाएको स्वीकार्यो । एमालेले विचार नमिल्नेहरूको अपवित्र गठबन्धनले गर्दा आफ्नो पार्टी अङ्कगणितीय हिसाबमा सिट संख्याका आधारमा दोस्रो तर भोटका आधारमा पहिलो भएको जिकिर गर्‍यो । हुनत उसले पनि कमल थापा नेतृत्वको राप्रपा र एकनाथ ढकाल नेतृत्वको परिवालदलसँग चुनावी तालमेल गरेकै हो । यद्यपि एमालेका सर्वशक्तिमान अध्यक्ष केपी ओलीले ‘राज्य शक्तिको चरम दुरुपयोग गरेर सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको’ आरोप लगाउन समेत भ्याए । भलै यो उनकै एमाले पार्टीभित्र अन्तरघात भई आफ्नै उम्मेदवारहरूलाई हराउन लागेको भन्दै अध्यक्ष ओलीको राजीनामा माग्ने तर्खरमा नेता घनश्याम भुसालमाथि कारबाहीको गृहकार्य भैरहेको छ । गजबको कुरा त ओली जहाँजहाँ गए त्यहाँत्यहाँ एमाले खुम्चिन बाध्य भयो । उनले आफ्नो पार्टीले हारेको हार स्वीकार गरेर भलै अध्यक्षबाट राजीनामा दिनु पर्दथ्यो । राजीनामाका सन्दर्भमा काँग्रेसले आफ्नो प्रजातान्त्रिक मान्यता नाघ्यो । एमालेले अटेरी गर्‍यो तर विवेशशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले इमान्दारिता देखाए । यो भने ठूला र प्रजातान्त्रिक भन्न रुचाउने पार्टीहरूलाई मुखमा तमाचा मारिएको हो ।

राजनीतिमा इमान्दार र जनउत्तरदायी नेताहरू चाहिन्छन् । मिश्रले गरेको राजीनामाबाट आजै आकास खस्ने त होइन तर यो नजिरले भोलिका दिनमा निर्वाचन हार्ने पार्टीका नेतालाई पदबाट राजीनामा दिएर बाहिरिन जनदवावको शृङ्खला सुरु हुन्छ अनि त्यतिखेर भने मिश्रलाई मुरीमुरी धन्यवाद् दिनुपर्छ किनकि उनले जाँदाजाँदै उदाहरणीय काम गरेर गए ।

हालै भारतको विहार प्रान्तमा स्थानीयहरूले जनभावनाअनुसार काम नगर्ने १ जना जनप्रतिनिधिलाई ढलमा घाँटीमात्र बाहिर निकालेर पूरै शरीर डुबाइदिएका छन् । यो कुराले जनता आफ्ना समस्यामा तुरुन्त निकाश भएको देख्न र सेवा सुविधामा सिष्टम डेलिभरीका कुराहरू हातहातै चाहन्छन् भन्ने चित्र देखाउँछ ।

अबको राजनीतिमा क्रमशः युवाहरूको उपस्थिति र सकारात्मक हस्तक्षेप बढ्दै जाने हो भने सपनाको व्यापार गरेर पुरातन शैलीमा टिकुरटिकुर पाराले राजनीति गरिरहेकाहरूको पत्तासाफ हुन बेर लाग्दैन भन्ने प्रमाण कमल थापावाला राप्रपाको हारको हविगत देख्दा पुष्टि हुन्छ । उनको पार्टीले देशैभरिबाट एक सिट पनि पालिका स्तरमा जित्न सकेन । हुन त यो कुनै नौलो कुरा होइन । जसको संगठन छैन उसले चुनाव जित्ने आधार नै हुँदैनन् । कमल थापाले यो हारलाई लाज पचाएर हेरे तर राजीनामाको ‘र’ पनि उच्चारण गरेनन् किनकि उनी पुरातन शैलीमा सामन्ती सोचका साथ राजनीति गरिरहेका छन् । यो मानेमा शेरबहादुर, केपी, माधव, झलनाथ र कमल थापा एउटै ड्याङ्का हुन् । यिनीहरूलाई अब युवाका चेतले एकैपटक नभए पनि किस्ता किस्तामा राजनीतिक मण्डीबाट बढार्नुको विकल्प छैन । अनि मात्र नेपालमा राजनीतिको व्यवस्थापन र सुशासनको प्रत्याभूति हुन सक्छ । यो जति सक्दो चाँडो सम्पन्न भयो उति चाँडो नेपालले विकासका राजमार्गमा आफ्नो फुल स्पिडमा गति लिन सक्छ ।

वैकल्पिक राजनीतिबारे विश्लेषक डम्मर खतिवडाको अभिमत भने यस्तो रहेको पाइन्छ –‘स्थानीय निर्वाचन परिणाम समीक्षाका अनेक पक्ष र आयाम होलान् तर मेरो मनलाई सबैभन्दा धेरै सताउने प्रश्न चाहिँ वैकल्पिक राजनीति र राजनीतिक विकल्पको प्रयास किन अझै प्रभावकारी हुन सकेन ? एकातिर मान्छे विकल्प चाहियो भनिरहेका हुन्छन् –अर्कातिर केही अपवाद छोडेर अधिकांश पुरातन दलहरूले नै मत किन पाइरहेका छन् ? विकल्प दिन्छौं भन्नेहरू किन यति फितला भए ? जनविश्वास हासिल गरी परिणाम पनि दिन सक्ने ल्याकत राख्ने वैकल्पिक प्रगतिशील–लोकतान्त्रिक दलको आवश्यकता कस्ले र कसरी पूरा गर्न सक्ला ? के बितेका ३ दशकजस्तै अझै केही दशक खेर जाने हुन् त ?’

बास्तवमा खतिवडाको प्रश्न जायज छ । जनताले अब आइन्दा विकल्पमा आउने पार्टी भनेको राजावादी र अलोकतान्त्रिक पार्टी भनेर भनेकै रहेनछन् । नत्र यही स्थानीय निर्वाचनमै पनि कमल थापा र विवेकशील साझालाई यसरी सून्य र केही स्थानमा मात्र सिमित गर्दैनथे । आफ्नो नेतृत्वमा निर्वाचन लडेर हारेका सबै सुप्रिम नेताहरूले सरक्क आफ्नो नैतिक दायित्व स्वीकारेर राजीनामा दिने चलन नेपालमा चलाउन सकियो भने मात्र नेपाली राजनीतिमा भएका कुँडाकर्कटहरू थोरै मात्रामा भए पनि आफलिनेछन् । ती घटना युवापुस्ताका लागि भने अदम्य खुसीको कुरा हुनेछन् ।

जनता गणतान्त्रिक व्यवस्थाभित्र पनि असल शासकको खोजीमा रहेका छन् भन्ने कुरा अहिले छर्लङ्ग भएको छ । रवीन्द्र मिश्रकोराजनीतिमा इन्ट्री सानदार थियो नै तर आउट अझ दर्दनाक भएको छ । राजनीति हो फेरि ‘रि इन्ट्री’ दमदार नहोला भन्न सकिन्नँ ! लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो । अहिलेका मतदाताको मानसिकताले के दर्शाएको छ भने अब चुस्तदुरुस्त भएर जनताका समस्याहरूमा वार्षिक, त्रैमासिक, मासिक र दैनन्दिन योजनाहरू बनाएर जान नसक्ने नेता र पार्टीहरू क्रमशः पत्तासाफ हुँदै जान्छन् ।

यो घानमा अहिले पहिलो चरणमा सप्रेनन् भने नेपाली काँग्रेस र नेकपा एमाले पर्ने निश्चितजस्तै देखिएका छन् । भविष्यमा अरू कुन–कुन पार्टी पर्ने छन् –त्यो चाहिँ अहिले नै भन्नु चाँडो हुनेछ ।