१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जिसस भक्तपुरको निर्वाचनका लागि कांग्रेस, एमाले र नेमकिपाको छुट्टाछुट्टै प्यानलै दर्ता

'सबै पदमा निर्वाचित हुन गोलाप्रथा हुने सम्भावना'

377
Shares

भक्तपुर । आगामी जेठ २८ गते हुने जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टै प्यानलै उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् भने एमाले र नेमकिपाले एक्ला एक्लै उम्मेदवारी दर्ता गरेका छन् ।

गठबन्धनबाट जिससको प्रमुखमा जनार्दन थापा, उपप्रमुखमा सुजाता बाडे र सदस्यहरुमा प्रेम खत्री, सरला बिक, मनिता नेपाली, रञ्जिता त्रिखत्री र विनु केसीको उम्मेदवारी दर्ता भएको छ ।

एमालेबाट प्रमुखमा ईश्वरबहादुर थापा, उपप्रमुखमा रामकेशरी श्रेष्ठ र सदस्यहरुमा विश्वराम त्वानाबासू, राममाया मिजार, नानु कार्की, मञ्जु कार्की र राधिका मिजारको उम्मेदवारी दर्ता भएको छ ।

नेमकिपाबाट प्रमुखमा हरिरत्न गोरखाली, उपप्रमुखमा सरिना देउला र सदस्यहरुमा जीतेन्द्र मुनंकर्मी, सीतादेवी नेपाली, गंगालक्ष्मी वमनू, मञ्जुमाया लाखा र रीता फसिकवाको उम्मेदवारी दर्ता भएको छ ।

भक्तपुरमा कुनै पनि दलको एकल बहुमत छैन । जिसस निर्वाचनका लागि भक्तपुरमा आठ जना मतदातामध्ये एमालेसँग ३, नेपाली कांग्रेस र नेमकिपासँग २–२ तथा माओवादी केन्द्रसँग एक मत रहेको छ । सत्ता गठबन्धनअन्तर्गत कांग्रेस र माओवादी केन्द्रसँग ३ मत हुँदा एमालेसँग बराबरी भएको छ । जसले गर्दा निर्णायक देखिएको नेमकिपाले पनि छुट्टै प्यानलै उम्मेदवारी दर्ता गराएको छ ।

नेमकिपाले कांग्रेस र एमालेमध्ये एउटासँग चुनावी तालमेल नगरे गोलाप्रथाबाट जिसस पदाधिकारी निर्वाचित हुने निश्चित छ । जिल्ला समन्वय समिति निर्वाचनमा कांग्रेस र एमाले एकापसमा तालमेल गर्न तयार छैनन् । जसले गर्दा दुइटै दलले नेमकिपा मनाउन हरसम्भव प्रयास गर्दै आएका छन् ।

जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि जेठ २८ गते मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।