
काठमाडौं, बैशाख ८ । रोयल फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।
रसियाको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन सोमबार बिहान काठमाडौँ आएको थियो । लकडाउनका कारण नेपालमा रोकिएका नागरिक लैजान उक्त जहाजले चार्टर्ड उडान भरेको हो ।
नेपालस्थित रुसी दूतावासको पहलमा रसियाले आफ्ना नागरिक जहाज चार्टर्ड गरी स्वदेश फर्काएको जनाइएको छ । यसैबीच नेपालमा रोकिएका आफ्ना नागरिक लैजान अमेरिकाले मङ्गलबार काठमाडौँमा जहाज पठाउने भएको छ ।
अमेरिकी जहाज मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अमेरिकन नागरिकलाई लिएर फर्किने विमानस्थलले जनाएको छ ।
यसअघि अमेरिकाले कतार एयरवेजको जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको थियो । यो पटक भने अमेरिकाले आफ्नै जहाज पठाउन लागेको जनाइएको छ । तर कुन कम्पनीको जहाज आउने भने विमानस्थलले खुलाएको छैन । रासस
प्रतिक्रिया दिनुहोस्