
नयाँदिल्ली, वैशाख ८ । गएको २४ घन्टायता भारतमा एक हजारभन्दा बढी कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ ।
सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड–१९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये दुई हजार ५४७ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजारभन्दा बढी कोरोनाका संक्रमित बिरामी अस्पतालमा उपचाररत् रहेका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३६ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५४३ पुगेको छ ।
सुरुदेखि नै भारतको महाराष्ट्र कोरोनाभाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
सोमबार पनि योक्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या चार हजार २०३ जना पुगेको उक्त मन्त्रालय बताएको छ ।
यसैबीच, महाराष्ट्रमा २२३ जनाको निधन भएको छ ।
यसैगरी, यस राज्यका ५०७ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँमात्र दुई हजार तीनजना कोरोना भाइरस संक्रमित रहेका छन् ।
दिल्लीमा कोरोनाभाइरस संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
यसैबीच, ७२ जना भने उपचारपछि घर फर्किएका छन् ।
भारतमा यसरी दिन प्रतिदिन नयाँ–नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यसैगरी, यस प्रकोपको प्रभावित भारतीय राजस्थान तेस्रो स्थानमा रहेको छ । राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या एक हजार ४७८ जना पुगेको जनाइएको छ ।
यी संक्रमितहरूमध्ये १८३ जना भने उपचारपछि घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट राजस्थानमा १४ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी, भारतको तमिलनाडूमा कोरोनाभाइरसका संक्रमितहरु एक हजार ४७७ जना भेटिएका छन् । यहाँका ४११ जना उपचारपछि घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
मध्य प्रदेशमा यसबाट ७० जनाको ज्यान गएको छ भने १२७ जना संक्रमित निको भएका छन् ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्थामा पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।
त्यसपछि पनि यहाँका उत्तर प्रदेश र केरला राज्यमा पनि ठूलो संख्यामा संक्रमितहरु भेटिएका छन् ।
पछिल्लो समयमा भारतमा हरेक दिन सयौं संक्रमित देखिन थालेका बताइएको छ । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्