१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘म बिरामी हैन चुपचाप छु’ भन्दै धर्मेन्द्रले भिडियो गरे सार्वजनिक


468
Shares

एजेन्सी । सोमबार बलिउड अभिनेता धर्मेन्द्र देवलको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर बाहिरिएको थियो ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएकाले उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । तर, धर्मेन्द्रले आफ्नो इन्स्टाग्राम मार्फत एउटा भिडियो सार्वजनिक गर्दै आफू बिरामी भएको कुरालाई खण्डन गरेका छन् । धर्मेन्द्रको स्वास्थ्यको बारेमा बलिउडको करिडोरमा अफवाहहरू उडिरहेका थिए, जसलाई अब अभिनेता आफैले भिडियो सार्वजनिक गर्दै खण्डन गरेका छन् ।

भिडियोमा उनी पहेँलो टिसर्ट, मरुन रंगको शर्ट र नीलो जिन्सको कालो टोपी लगाएको देखिएका छन् । सोफामा बसेर धर्मेन्द्र भन्छन्, ‘नमस्ते साथीहरू, सकारात्मक हुनुहोस्, सकारात्मक सोच्नुस, जीवन सकारात्मक रहनेछ । म मौन छु, म बिरामी छैन । कुनै न कुनै कुरा, अफवाहहरू उडिरहन्छन् । नराम्रो नसुन, नराम्रो नदेख, आफ्नो ख्याल गर्नु, एक अर्काको ख्याल राखौ, एकअर्कालाई माया गर्नुहोस्स जीवन सुन्दर हुनेछ ।’

भिडियोमा धर्मेन्द्रले सन् १९६९ मा आएको फिल्म ‘आया सावन झूम के’ गीत गाएका छन् ।

यसअघि उनका कान्छो छोरा बबी देवलले बुवा धर्मेन्द्रको स्वास्थ्यबारे जानकारी दिँदै आफ्नो बुवा निको भएको र घरमै रहेको बताएका थिए । धर्मेन्द्रको स्वास्थ्य वास्तवमा मे महिनामा बिग्रिएको थियो । व्यायाम गर्दा गर्दै उनी घाइते भएका थिए । त्यसपछि उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

८६ वर्षीय धर्मेन्द्र अहिले पनि फिल्मी संसारमा सक्रिय छन् । उनी अहिले चलचित्र ‘अपनी २’ मा काम गर्दैछन् । यसबाहेक उनी फिल्म ‘रकी र रानीको प्रेमकथा’ मा पनि महत्वपूर्ण भूमिकामा देखिने भएका छन् ।

करण जोहरको ब्यानरमा निर्माण हुन लागेको यस फिल्म ‘रकी र रानीको प्रेमकथा’ मा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिका रहेको छ । फिल्ममा धर्मेन्द्रसँगै जया बच्चन र शबाना आजमी पनि छन् । यो फिल्म २०२३ मा प्रदर्शन हुनेछ ।