Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


इलाम बजारमा बृहत खानेपानी आयोजनाः एडिबीले ५८ करोड सहयोग गर्ने


0
Shares

-प्रकाश नेपाल/ईमेज

इलाम । इलाममा संचालन हुन लागेको ‘इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाई आयोजना’ कार्यान्वयनका लागि चौपक्षीय वित्तीय सम्झौता भएको छ ।

आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको अग्रिम दाखिला गर्नुपर्ने ५ प्रतिशत रकम दाखिला गरिसकेपछि सरोकारवालबीच वित्तीय सम्झौता भएको हो ।

आयोजना कार्यान्वयनका लागि यही महिनाभित्र टेण्डर आह्वान गर्ने नगर विकास कोषले जनाएको छ ।

एडिबीको आर्थिक सहयोगमा ८३ करोड ६८ लाख २ सय ९२ रुपैयाँको लागतमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो ।

आर्थिक वर्ष २०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि नेपाल सरकारमार्फत एडीबीले ७० प्रतिशत अर्थात ५८ करोड ५७ लाख ६० हजार २ सय ४ रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिताअन्तर्गत ४ करोड १८ लाख ४० हजार १४ रुपैयाँ लगानी छ ।

इलाम नगरपालिकाले २५ प्रतिशत अर्थात् २० करोड ९२ लाख ७३ रुपैयाँ नगर विकास कोषसँग ऋण जमानत बस्नुपर्ने छ ।