Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बाँदरमुढेमा यात्रुबाहक बस विष्फोट गराएकाे १७ वर्ष लाग्याे

पीडित परिवारले भने अझै न्याय पाउन सकेनन्

1.4k
Shares

काठमाडौं । चितवनको माडीस्थित बाँदरमुढे खोलामा तत्कालीन नेकपा माओवादी पार्टीले सशस्त्र युद्धका क्रममा यात्रुबाहक बस विष्फोट गराइएको आज १७ वर्ष लागेकाे छ ।

घटना भएको १७ वर्ष लाग्दा समेत पनि पीडित परिवारले अझै न्याय पाउन सकेका छैनन् । २०६२ साल जेठ २३ गते बिहान यात्रुले खचाखच भरिएको बसमा माओवादीले विष्फोट गराउँदा बालबालिकासहित ४२ जनाको ज्यान गएको थियो भने ५२ जना घाइते भएका थिए । छतमा बसेका यात्रुसमेत गरी करिब १ सय ३० जना यात्रु बोकेको बस बम विस्फोटमा परेपछि केही फिटमाथि उछिट्टिएर बजारिएको थियो ।

नेकपा माओवादी कार्यकर्ताले झण्डै ७० किलोग्राम तौलको बमको धराप थापेर ३ सय मिटर टाढाबाट रिमोट कन्ट्रोलबाट बम विष्फोट गराएका थिए । नेकपा माओवादीको तत्कालीन चितवन जिल्ला कमिटीमा रहेका कार्यकर्ताले विष्फोट गराएपनि उनीहरूले घटनापछि पार्टी केन्द्रकै निर्णय अनुसार विष्फोट गराएको दावी गरेका थिए । त्यति ठूलो अपराधमा संलग्नहरू कसैलाई पनि अझै कारबाही हुन सकेको छैन् ।

शान्ति सम्झौता हुँदा गरिएका प्रतिवद्धताहरू अहिले त्यत्तिकै हराएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले क्षमा माग्नु भन्दा बाहेक अरु कुनै पनि प्रतिवद्धता पूरा नगरको गुनासो पीडितहरूले गरेका छन्। दोषीहरुमाथि कारबाहीको सट्टा माओवादी युद्धको एउटा पाटोको रुपमा उक्त घटनालाई बिर्सने प्रयास अहिले पनि भईरहेको छ ।

यसैबीच, पीडित पक्षले भने घटनास्थलमा आज साेमबार एक कार्यक्रमगरि साे घटनाको स्मरण गरेका छन् ।