२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


कार्कीले भने मेरो चरित्र हत्या गर्न खोजियो


0
Shares

काठमाडौं, बैशाख ७ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ का वडा सदस्य परशुराम कार्कीले राहत वितरणका सम्बन्धमा सफा नियतले काम गर्दागर्दै पनि आफ्नाविरुद्ध कुप्रचार गरिएको भन्दै दुःखेसो गरेका छन् ।

नगरपालिकाको वडा ९ नयाँकोलोनी क्षेत्रमा राहतवितरण गर्ने सन्दर्भमा आफ्नो घरमा ६ बोरा चामल लुकाउन लगेको भन्दै अर्को पक्षले गरेको जिकीरलाई उनले अस्वीकार गर्दै कोही आपत परेको मानिस आइहाल्यो भने दिन सजिलो होस् भनेर आफूले जिम्मा लिएको बताएका छन् ।

नगरपालिकाले तत्काल रकम उपलब्ध गराउन नसक्ने भएपछि सप्लायर्सलाई डेढ लाख रुपैयाँ आफ्नो छोराले हालिदिएर राहत वितरणको सामान ल्याउन सघाएको पनि कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

चैत्र २७ गते राहतको सामान वितरण गर्दा बाँकी रहेको चामल वडा सदस्य कार्कीले नै घरमा लगेर लुकाएको आरोप केही स्थानीयले लगाएका थिए । वितरण गरेर बाँकी रहेको ४४ बोरा चामललगायतको सामग्री सप्लायर्स मिलन कार्कीकै स्टोरमा राख्न खोजेपनि उनले आफ्नो ठाउँ नभएको बताएपछि ६ बोराबाहेक अरु सामान वडा कार्यालयमा राखिएको उनले उल्लेख गरेका छन् ।

एक बोरा चामल भने सामान अनलोड गर्ने देव कुमार भन्ने स्वयंसेवकलाई कर्मचारीसमेतको रोहवरमा दिइएको र ५ बोरा कसैलाई आपतपर्दा दिन सप्लायर्स कार्कीलाई जानकारी गराई लगेपनि घरमा राख्नु उचित नहुने भन्दै सोही दिन सप्लायर्सकै स्टोरमा पठाइएको पनि उनले बताएका छन् । 

सप्लायर्सकै स्टोरमा चामल राखिएको थाहा हुँदाहुँदै पनि आफ्नो चरित्र हत्यागर्ने नियतले केही विपक्षी स्थानीयले दोषी देखाउने प्रपञ्च रचेको भन्दै उनले प्रष्टीकरण दिएका छन् । नगरपालिकाले लैजाने व्यक्तिको नाममा भएको कुपनबाहेक अरु सामानको भुक्तानी नगर्ने सम्झौता सप्लायर्ससँग गरिएको पनि उनले प्रष्ट्याएका छन् ।