Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


भारतसँग सिमाना जोडिएको प्रदेश–१ का नाकामा थप कडाइ


0
Shares

विराटनगर, वैशाख ६ । प्रदेश नम्बर–१ का भारतसँग सीमाना जोडिएका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारबाट थप कडाइ गरिएको छ ।

उदयपुरमा बसेका ११ जना भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरी, मोरङ, झापा र इलाम जिल्लाको सीमानाकामा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गरेको छ ।

सीमा क्षेत्रमा तीन हजार ७०० सशस्त्र प्रहरी र एक हजार १०० नेपाल प्रहरी परिचालन गरिएको बताइएको छ ।

दशगजामा चेकपोस्ट खडा गरी २४ सै घन्टा सुरक्षा तैनाथी बढाइएको छ ।

लुकिछिपी नेपाल प्रवेश गर्नेक्रम नरोकिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको सीमा क्षेत्रमा परिचालन बढाइएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश–१ बाहिनीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिए ।

सीमा क्षेत्रको सुरक्षा निगरानी र नियन्त्रणका लागि १८ जना प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी परिचालन गरिएको छ ।

भारतको बिहार र पश्चिम बंगाल राज्यसँग सिमाना जोडिएको प्रदेश–१ का जिल्ला इलाम, झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कुल ३०८ ओटा नयाँ पोस्ट थपिएको छ ।