दीपक श्रेष्ठ र राममान डंगोल (इमेज)
काठमाडौं, वैशाख ६ । काठमाडौंको पशुपति क्षेत्र परिसरमा ‘लकडाउन’को बेला गरिब सर्वसाधारणलाई लक्षित गरी निःशुल्क भोजन वितरण भइरहेको छ ।
सरकारले लकडाउन घोषणा गरेको एक हप्तादेखि नै दैनिक निःशुल्क भोजन वितरण थालिएको हो ।
यस्तो सेवा काठमाडौंको अन्य ठाउँहरुमा पनि सुरु भएको छ ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, विभिन्न सामाजिक, धार्मिक संघ–संस्थाका सदस्यले व्यक्तिगतरूपमा सहयोग गरेर भोजन वितरण भइरहेको छ ।
भोजन वितरणबाट पशुपति, गौशाला क्षेत्र आसपासका बेसहारा, साधु–सन्यासी, असहाय, दैनिक ज्यालादारी काम गर्ने मजदुर र लकडाउनले घर फर्कन नसकेकाहरू लाभान्वित भइरहेका छन् ।
दैनिक लगभग ४०० जनाले भोजन गर्ने गरेको र लकडाउन अवधिसम्म निःशुल्क भोजन वितरण गर्ने योजना रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
त्यसैगरी, गत १९ गतेदेखि सामुदायिक सेवा केन्द्र कुलेश्वर र सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त पहलमा समस्यामा परेका झन्डै ४०० सर्वसाधारणलाई बिहान–बेलुकी खाना खुवाउने गरिएको छ ।
खाना खान आउनेहरु दैनिक बढ्दै गएको सामुदायिक सेवा केन्द्र कुलेश्वरका अध्यक्ष गोपालकृष्ण श्रेष्ठ बताउँछन् ।
सामुदायिक सेवा केन्द्र कुलेश्वरको यस कार्यमा खाद्यान्न जय श्री च्यारिटी नेपालले उपलब्ध गराएको छ भने स्वास्थ्य सामग्री लायन्स क्लब अफ काठमाडौंले उपलब्ध गराउँदै आइरहेको हो ।
लकडाउनका कारण खान नपाएर छट्पटिएकाहरुलाई मनकारी व्यक्तिहरुले गरेको सहयोगले अहिलेको समस्यासँग जुध्न सहयोग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्