
बारा, वैशाख ६ । बाराका किसानलाई पशु जोगाउन समस्या भएको छ ।
‘लकडाउन’का कारण दूध बिक्रीका लागि उन्नत जातका पशुपालन गर्ने किसानहरुलाई पशुको आहारा जुटाउन समस्या परेको हो ।
दूध खपत र बिक्री कम भएपछि पशुलाई चाहिने दाना, औषधिसमेत अभाव हुन थालेपछि किसान चिन्तित बनेका हुन् ।
जिल्लाका डुमरवाना, औराह, महेन्द्रनगर, पिलुवालगायतका दर्जनौं गाउँका सयौं युवा किसानहरु पशु थला पर्ने भन्दै चिन्तित बनेका हुन् ।
किसानको दूध बिक्री हुन छाडेपछि दाना, पराल, उन्नत घाँस, चोकर, ढुटोलगायतका खरिद गर्न रकम अभाव हुँदा पशु जोगाउन समस्या भएको हो ।
सहकारी, साना किसानजस्ता वित्तीय संस्थाको किस्ता, ब्याज र कर्जा लिएका र विदेशबाट फर्केका युवाहरुले केही महिनाअघि थालेको व्यावसायिक पशुपालन धरापमा परेको छ ।
लकडाउनका कारण दूध बिकेनभन्दा पनि औषधि, आहारा जुटाउन नसक्दा पशु जोगाउन समस्या भएको स्थानीय युवा बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्