Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


भक्तपुरका युवाहरुको उदारणीय कामः कोरोना नियन्त्रणका लागि ‘ज्यानकै बाजी’


0
Shares

-पलिस्था रञ्जितकार 

भक्तपुर ।  विश्वभरी कोरोना भाइरसले सन्त्रास फैलाएर सर्वसाधरणदेखि चिकित्सकसम्म त्रसित भइरहेको समयमा भक्तपुरका केही युवाहरुले भने आफ्नो ज्यानकै बाजी थापेर कोरोना नियन्त्रणका लागि अहोरात्र खटिरहेका छन् ।

भक्तपुर अस्पताल, नेपाल प्रहरी, नेपाली सेना बिरदल गण र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा भक्तपुरका चार युवाले स्वयंसेवीका रुपमा भक्तपुर अस्पतालमै पाल टाँगेर कोरोनाका सम्भावित बिरामीको उद्दारका काम गर्दै छन् ।

लकडाउनको समयलाई उपयोग गर्न घर बस्नुभन्दा संकटको समयमा सहयोगको भावनाले काम गर्ने अभिभारा बोकेका २० वर्षीय न्हुज किजुले लकडाउन सुरु भएको दिनदेखि नै तीन साथी अरुण सैँजु, राजेश गाइँजु र पुनम कर्माचार्यका साथ कोरोनाका सम्भावित बिरामीको उद्धार र पहिचान गर्न खटिरहेका छन् ।

साथीहरुमा काम विभाजन भएसँगै किजुको काम भने सम्भावित बिरामीको स्वाब परीक्षण गराउन दिनहुँ टेकु जानु र आउनु थियो । तर अहिले भने भक्तपुरमै स्वाब परीक्षण हुन थालेको छ ।

यसका साथै आवश्यक परेको सामग्री ल्याउने काम पनि उनले गर्दै आएका छन् । अहिलेसम्म किजुले भक्तपुर अस्पताबाट १ सय ६६ जनाको स्वाब टेकु पुर्‍याइसकेका छन् ।

३० वर्षीय राजेश गाइजु भने सानैदेखि रोबोरेञ्जर आरएनएन ६५ र स्काउटबाट लिएको तालिम  लगायतका जीवनपयोगी तालिमहरु विपद्का बेला उपयोगी भएकाले सोही कुराको परिचालन गर्न यो काम यही अवसरमा गर्न लागेको उनी बताउँछन् ।

२३ वर्षीय पुनम कर्माचार्य भने अहिलेको आफ्ना साथीहरुको सूचना प्रवाहको काम गर्छिन् । भक्तपुर अस्पतालमा स्वंयसेवीका रुपमा काम गर्दै आएको यो समूहका व्यवस्थापक अरुण सैँजु भने विपदका बेला हातेमालो गरेर आफूहरुले सहयोगी हात बटुलेको बताउँछन् ।

विपद्का बेला आआफ्ना तहबाट यी युवाहरुले गरेका काम स्वागतयोग्य छ । यी युवाहरु जस्तै सहयोगी भावले काम गर्नुपर्ने भाव आजका युवाहरुमा आउन जरुरी छ ।