Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


चोरीमा नाबालकको प्रयोग, १२ मोटरसाइकल सहित ८ जना पक्राउ


897
Shares

झापा । नाबालकको प्रयोग गर्दै झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने गरेको तथ्य खुलेको छ ।

सप्तरीको टिकुली नगरपालिका–५ निवासी २७ वर्षीय करण मोहम्मदले झापाका दुई स्थानमा ग्यारेज सञ्चालन गरेर मोटरसाइकल चोरीमा नाबालकको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

केही समयदेखि बिर्तामोड नगरपालिका सहित आसपासका क्षेत्रमा मोटरसाइकलको चोरी बढेसँगै प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा ग्यारेज सञ्चालक मोहम्मदले १६ वर्षभन्दा मुनिका बालकको प्रयोग गर्दै मोटरसाइकल चोरी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

बिहीबार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले चोरी भएका १२ वटा मोटरसाइकल र चोरीमा संलग्न दुई नाबालकसहित ८ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा ग्यारेज सञ्चालक मोहम्मदसहित बिर्तामोड–५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड–३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा–८ का १८ वर्षीय समिर मिया, गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओम प्रकाश यादव, इलामको चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ र दुई नाबालक रहेका छन् ।

चोरीमा संलग्नहरूले रातको १२ बजेदेखि विहानको ४ बजेसम्मको अवधिमा मोटरसाइकल चोरी गरेर ग्यारेजसम्म पुर्‍याउने गरेको प्रहरीले जनाएको छ ।

मोहम्मदले अर्जुनधारा–८ स्थित कदमगाछी र अर्जुनधारा–१० मा दुईवटा मोटरसाइकल ग्यारेज सञ्चालन गरेका थिए ।

Skip This