नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, वैशाख ५ । कोरोनाभाइरसको संक्रमणबाट बच्न ‘लकडाउन’ गरेपछि वन्यजन्तु सहरको घर–घरमा आउन थालेका छन् ।
स्वयम्भू महाचैत्यमा भक्तजनहरु ‘लकडाउन’का कारण जान रोकिएपछि बाँदरहरु सहरभित्र घर–घरमा देखिन थालेका हुन् ।
स्वयम्भू महाचैत्य परिसर र उपत्यका वरपर रहेका जंगलका बाँदरहरु सहरका बस्तीमा देखापर्न थालेका छन् ।
लकडाउनका कारण मानिसहरु घरभित्रै बसेपछि बाँदरहरु सहरका घर–घरमा आएर खेल्ने र खानेकुरा खोज्ने गरेको देखिन्छ ।
कालिमाटी, ताहाचल, लगन, नयाँबजार, लाजिम्पाटलगायतका क्षेत्रमा बाँदर प्रशस्त देखिन थालेका छन् ।
कालिमाटी निवासी सुरेन्द्र मानन्धर बाँदरहरु हरेक वर्ष आउने गरेको तर यस वर्ष अलि धेरै देखिएको बताउँछन् । बाँदरहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
बाँदरहरु सडकको बीचौबीच नै हिँडेर घरघरमा आइरहेको देखेको स्थानीयले बताएका छन् ।
बाँदरहरु दिनभरि घाम ताप्ने, खेल्ने र खानेकुरा खोज्ने गरेको उनीहरुको भनाइ छ ।
नयाँबजारकी टीकाकुमारी रिमालले लकडाउनका कारण बाँदरलगायतका जनावर भोकाएको देखेर खानेकुरा खुवाउन आएको बताइन् ।
अहिले बाँदरहरु ठाउँ–ठाउँमा देखेको भन्दै उनीहरुलाई स्थानीयले खानेकुराको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।
उपत्यकामा रहेका वनजंगल र हरियाली जोगाउनु आवश्यक भइसकेको छ । यस्तो बेला नै हो, प्राकृतिकरुपमा नै वन्यजन्तु र पशुपक्षीको व्यवस्थापन गर्नु ।
कोरोनामात्र होइन, भविष्यमा हुन सक्ने महामारीबाट वन्यजन्तु र पशुपक्षीको व्यवस्थापन गर्न वनजंगल नै आवश्यक छ । तसर्थ, समयमै उचित संरक्षण गरौं ।









प्रतिक्रिया दिनुहोस्