
काठमाडौं, वैशाख ५ । संयुक्त अधिराज्य बेलायतको टीटान एअरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ ।
टीटानले पाँच बालकालिकासहित २२८ यात्री लिएर केहीबेरअघि (शुक्रबार दिउँसो) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।
‘लकडाउन’का कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई ‘चार्टर्ड’ उडानमार्फत् बेलायतले स्वदेश फर्काइरहेको छ ।
यसअघि, गत चैत २६ र चैत २८ गते पनि टीटान एअरवेजले बेलायती नागरिक लगेको थियो । उसको यो तेस्रो चार्टर्ड उडान हो ।
यसैबीच, एअर अरेबियाको कार्गो जहाज पनि शुक्रबारैसाँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।
यो कार्गो उडानमा के–कस्ता सामग्री ल्याइएको भन्ने एकिन विवरण आएको छैन । जहाज काठमाडौं आएर यताबाट रित्तै फर्कनेछ ।
शुक्रबार बिहान नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)का दुई ‘वाइडबडी’ ए–३३० जहाजले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर फर्किएका थिए । दुवै जहाज निजी व्यवसायीले चार्टर्ड गरेर सामग्री ल्याएका हुन् ।
आन्तरिकतर्फ पनि केही उद्धार तथा कार्गो उडान भइरहेका छन् । शुक्रबारै दिउँसो यती एअरलाइन्सको जहाजले ३७ जना चिकित्सक बोकेर धनगढी उडान भरेको विमानस्थलले जनाएको छ ।
सरकारले सुदूरपश्चिम प्रदेशमा ‘कोभिड–१९’ को परीक्षणका निम्ति थप स्वास्थ्य जनशक्ति पठाएको हो ।
श्री एअरलाइन्सले पनि सिंगापुरको लागि कार्गो उडान गर्दैछ । अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि श्रीले जहाज पठाउन लागेको हो । उडान तालिका रहेपनि अहिलेसम्म उडान नभएको विमानस्थलले जनाएको छ ।
यसअघि पनि श्रीले काठमाडौं–सुडानमा कार्गो उडान गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्