
स्याङ्जा । कालीगण्डकीको पानी राम्दीबाट डाइभर्सन गरी रुपन्देहीको तिनाउ नदीमा लैजाने योजनाविरुद्ध चापाकोट र रामपुरका जनप्रतिनिधिहरु फेरि आन्दोलनमा लागेका छन् ।
सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि सार्वजनिक गरेको वार्षिक बजेटमा कालीगण्डकी राम्दी–तिनाउ डाइर्भसनको अध्ययन कार्य अगाडि बढाउने उल्लेख गरेपछि उनीहरु आन्दोलित भएका हुन ।
स्याङ्जाको चापाकोटका नगरप्रमुख ईश्वर खाँण र पाल्पाको रामपुरका नगरप्रमुख रमण थापाले परियोजनाको विरोध गरेका छन् । नगर प्रमुखद्धयको नेतृत्वको टोलीले प्रधानमन्त्री तथा नैपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उर्जा तथा सिंचाइ मन्त्री पम्फा भूषाललाई ध्यानाकर्षण पत्र बुझाउँदै परियोजना अगाडि नबढाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा सभापति देउवालाई कांग्रेस उपसभापति धनराज गुरुङ मार्फत ध्यानाकर्षण–पत्र बुझाइएको हो । ध्यानाकर्षण–पत्र बुझ्दै उपसभापति गुरुङले आफु परियोजनाको विपक्षमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवालाई आफुले पनि परियोजना अघि नबढाउन आग्रह गरेको जानकारी दिनुभयो ।
परियोजनाबाट राम्दीदेखि तल्लो स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर क्षेत्रका लाखौँ बासिन्दालाई अन्याय हुने र विस्थापित हुनुपर्ने अवस्था सृजना हुने गुरुङको तर्क छ ।
दुबै नगरप्रमुख टोलीको ध्यानाकर्षण–पत्र बुझदै उर्जामन्त्री भूषालले पनि परियोजना अगाडि नबढ्ने कुरामा ढुक्क हुन आश्वस्त पार्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्