
काठमाडौं । मौसम सम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटनाहरु पनि पूर्वानुमान विपरित उडान गर्दा दुर्घटना भएको भन्दै विज्ञहरुले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले कुनैपनि विमानहरु थ्रेसहोल्ड (सीमा) मा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रियरुपमा अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विगतमा पनि अधिकांश विमान दुर्घटना मौसम प्रतिकुलमा चलाएका कारण भएको बताउनुभयो ।
जलवायुको अवस्थालाई मध्यनजर गरी विमान उडाउने अन्तर्राष्ट्रिय अभ्यास भएको तर नेपालमा भने आन्तरिक उडानको क्रममा पूर्व सूचना प्रणालीलाई प्राथमिकता नदिएको टिप्पणी गर्नुभयो । उहाँले आगामी दिनमा पूर्व सूचना प्रणाली कार्यान्वयन भए नभएको सुक्षम नियमन नगरे ठूलो जोखिम निम्तिने चेतावनी दिनुभयो ।
उहाँले जल तथा मौसम विज्ञान विभाग र निजी एयरलाइन्सबीचको तलमेल नमिल्दा पनि यस्तो दुर्घटना हुनसक्ने बताउनुभयो । जलवायु विज्ञ उप्रेतीले एयरलाइन्सले पाइलटलाई दबाव सिर्जना गरेर विमान उडाउन लगाएको हुनसक्नेतर्फ पनि सरकारले नियमन गर्नुपर्ने बताउनुभयो ।
यता जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभागले तीन दिनको पूर्वानुमान सम्बन्धित सरोकारवाला निकायहरुलाई सही समयमा गराइरहेको बताउनुभयो । उहाँले ग्राउण्डमा रहेका विभागका अवलोकनका नेटवर्कहरुबाट प्राप्त सूचनालाई सही समयमै सम्बबन्धित निकायलाई हरेक दिन बिहान र बेलुका ६ बजे उपलब्ध गराइएको बताउनुभयो । महानिर्देशक जोशीले कृषि, जलश्रोत विकास पूर्वाधार, पर्यटन र विपद् न्यूनिकरणको लागि सम्बन्धित निकायहरुमा पूर्व सूचना दिने गरेको बताउनुभयो ।
महानिर्देशक जोशीले गत वर्षको मनसुनपछि पनि विभागले पूर्वानुमानको सूचना निकालेको तर पालना गर्न नसक्दा कृषिमा ठूलो क्षति भएको बताउनुभयो । उहाँले अझै पनि आम नागरिकहरुमा मौसम पूर्वानुमानबारे बुझाईको कमी भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्