Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक


143
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रमलाई आजै प्रदेस सभाले पारित गरेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रंस्तुत गर्नुभएको हो ।

‘नमुना वडा समाजवादी कार्यक्रम’ कार्यान्वयन गरिने, सरुवा रोगहरूको जोखिम नियन्त्रण र कोभिड–१९ जस्ता महामारीको प्रतिकार्यको प्रभावकारी व्यवस्थापनका लागि कम्तीमा ५० शैयाको सुविधा सम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने कार्यलाई अगाडि बढाइने भएको छ ।

‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयाघात, मस्तिष्काघात र अप्स्टेट्रिक फिष्टुला लगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बढाउने, मृगौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गर्ने, नीति तथा कार्यक्रमा उल्लेख छ ।

‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई थप प्रभावकारी बनाइ विस्तार गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको छ । ‘बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने, सामुदायिक क्याम्पसमा अध्ययनरत छोरी बुहारीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

एक स्थानीय तह एक खेल मैदानको नीति लिने भएको छ । ‘एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा’ अभियानलाई अगाडि बढाइने भएको छ । प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारले प्रदेश भित्रका गरिव तथा बिपन्न कम्तीमा दश हजार युवालाई रोजगारी प्रदान गर्न ‘मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

प्रदेश गौरवको आयोजनाको रूपमा फर्पिङ–हुमाने भञ्ज्याङ–कलंकी–हेभी सडक यसै आर्थिक वर्षमा निर्माण शुरु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।