२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


घर हिँडेका मजदूर मौवाखोलामा रोकिए


0
Shares

धादिङ, बैशाख ४ । कोरोना (कोभिड –१९) को महामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदूर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् ।

कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदूर काम गर्न नपाइने र खानेकुरा सकिएपछि  हिँडेर घर जान लागेका थिए ।

घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेको हो ।

बिहानैदेखि तीन सयभन्दा बढी मजदूर रोकिएको र उनीहरु खानेकुरा नपाएर दिनभर सो क्षेत्रमा भोकभोकै परेको स्थानीयवासी विनोद शाहले जानाकारी दिए ।

मजदूर रोकिएपछि मौवाखोला बजारबासीले  प्रहरीलाई हिँडेर घर जान दिनका लागि आग्रह गरेका थिए । बजारबासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि बजारबासी र मजदूर मिलेर प्रहरीसंँग झडप गरेका थिए ।

घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीच वार्ता भएको छ । वार्तापछि मजदूरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएको छ ।

धादिङका विभिन्न इँटा उद्योग, विद्यालय निर्माण र गाउँमा पुनःनिर्माणका लागि आएका मजदूर घरतर्फ जान लागेका थिए ।

एक जिल्लाबाट अर्को जिल्ला जानका लागि अतिआवश्यकीय सवारी साधनसमेत रोकिएपछि प्रमुख जिल्ला अधिकारीहरुले वार्ताका माध्यमबाट समस्या समाधान गरेका हुन् । रासस