१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


निर्वाचनमा धाँधली भयो भन्न मिल्दैन : प्रधानमन्त्री देउवा


169
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्न नमिल्ने बताउनुभएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले सीमित स्रोत, साधनको बीचमा पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सार्वभौम जनता निर्णायक शक्ति हुने भएकाले निर्वाचनबाट प्राप्त जनमतलाई कदर गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

‘निर्वाचनको निष्पक्षताको बारेमा केही माननीयले चासो राख्नुभएको छ, यस सम्बन्धमा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु, देशका एकैपटक निर्वाचन गर्नु चुनौतिको विषय हो,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सीमित स्रोत, साधनको बीच पनि निर्वाचन समग्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ ।’

छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त नहुने प्रधानमन्त्री देउवाले बताउनुभयो । सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको उहाँको भनाइ छ ।