पेट्रोलियम पदार्थको मूल्यवृद्धिको उचित सम्बोधन गर्छाैं : मन्त्री शर्मा « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


पेट्रोलियम पदार्थको मूल्यवृद्धिको उचित सम्बोधन गर्छाैं : मन्त्री शर्मा


247
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयको उचित सम्बोधन गर्ने गरेर नीति तथा कार्यक्रम ल्याइएको दाबी गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उत्तारचढावले यसको आन्तरिक बजार र मूल्य प्रभावित भएको जिकिर गर्नुभयो ।

राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूमाथि स्पष्ट पार्दै मन्त्री शर्माले घाटा व्यहोरेर सरकारले उपभोक्तालाई उपलब्ध गराएको पनि बताउनुभयो ।

बजारमा तेलको मूल्यमा अस्वभाविक वृद्धि हुँदा यसको प्रत्यक्ष असर समग्र आपूर्ति श्रृंखलामा परेको उहाँले बताउनुभयो ।

मन्त्री शर्माले मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभीमान र सीमानाको सुरक्षाका लागि सरकार सदैव सचेत र तयार रहेको पनि बताउनुभयो ।

मुलकको अन्तर्राष्ट्रिय सीमा सम्बन्धमा बाँकी रहेका विषयलाई ऐतिहासिक सन्धी, नक्शा, तथ्य र प्रमाणका आधारमा दिव्पक्षीय वार्ताबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको र यस विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट गरिसकेको बताउनुभयो ।

मन्त्री शर्माले प्रस्तुत नीति तथा कार्यक्रमले मुलतः सरकारको प्राथमिकतामा रहेका राष्ट्रिय महत्वका र मुलुकलाई दीर्घकालीन रूपमा प्रभावित गर्ने विषयहरूलाई प्राथमिकताका साथ समेट्ने प्रयास गरेको बताउनुभयो ।

नीति तथा कार्यक्रममा उल्लेख नभए पनि विगतदेखि सञ्चालन हुँदै आएका र सकारात्मक नतिजा आयोजना तथा कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने शर्माले बताउनुभयो ।

मन्त्री शर्माले वर्तमान सरकारले देशको विकास र समृद्धिका आकांक्षालाई मूर्त रुप दिन सहयोग पु¥याउने किसिमबाट नीति तथा कार्यक्रम ल्याएको दाबीसमेत गर्नुभयो ।