१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


आगामी दुई महिनाका लागि तय गरिएका सबै प्रतियोगिता स्थगन गर्ने एएफसीको निर्णय


0
Shares

काठमाडौं । एशियाली फुटबल संघ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो ।

यसअघि मे र जुन महिनाका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो ।

विभिन्न देशले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ ।

सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप समुह चरणका प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा संघसंग समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ ।