
पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण ठूलो संख्यामा मत बदर भएको बताउनुभएको छ ।
पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै नवनिर्वाचित मेयर आचार्यले निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेको बताउनुभयो ।
‘उहाँ (दिनेशकुमार थपलिया)को यहीखालको रवैया, यहीखालको गतिविधि र भाइबन्दी गर्ने हो भने पदमा बसिरहन नैतिक अधिकार छैन,’ उहाँले भन्नुभयो, ‘उहाँले आफैँले आफैँलाई नैतिक अधिकार के हो भनेर सोध्न जरुरी छ ।’
आचार्यले निर्वाचन आयोगको रवैया नभएको भए आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार मतान्तर हुने दाबी गर्नुभयो । अध्याँरो कोठामा बसेर षड्यन्त्रको जालो बुनिएको उहाँको आरोप छ ।
आचार्यले अबदेखि महानगरमा भाषण भन्दा पनि समृद्धि पोखरा बनाउने गरी काम सुरु हुने बताउनुभयाे ।
‘कम महत्वका कार्यक्रममा समय बिताउने छैनौं, कसरी काम गर्नुपर्छ भनेर क्यूआर बनाउनेछौ,’ उहाँले भन्नुभयो, ‘सबैबीच तालमेल नहुन सक्छ, त्यसैले यो महिनाभित्र करिब १० दिनमा सबै वडामा पुग्नेछौं, सबैको कुरा सुन्ने छौं ।’
आचार्यले अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने पनि बताउनुभयो ।
३ दिन/२ रातको क्लोज क्याम्पमा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, महानगरका विभिन्न विभागीय प्रमुखको मात्र उपस्थिति हुने र पोखरा बनाउन घनिभूत छलफल गर्ने उहाँले बताउनुभयो ।
‘सो कार्यक्रममा कसैको पनि मोबाइल बज्ने छैन,’ उहाँले थप्नुभयो, ‘हामी पोखराको विकासमा चिन्तन गर्नेछौं ।’
आचार्यले चुनावपछि गठबन्धनबाट आएका पदाधिकारीमात्र सीमित नभई यसबाहेकका दलबाट आएका पदाधिकारीलाई पनि समेट्दै अघि बढ्ने बताउनुभयो । महानगरभित्र आएर पार्टीका कुरा नगर्ने उहाँको भनाइ छ ।
पोखराको सभागृहबाट सुरु विजयी ¥याली महेन्द्रपुल हुँदै नयाँबजार पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्