२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


विराटनगरमा कोरोना परीक्षण बुथ निर्माण


0
Shares

विराटनगर, बैशाख २ । कोशी अस्पताल विराटनगरमा  कोभिड १९ को परीक्षणका लागि बुथ निर्माण गरिएको छ ।

प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपाल (पिन) को कूल रु. एक लाख एक हजार लागतमा निर्माण गरिएको सो बुथलाई पिनका अध्यक्ष दीपक पौडेलले प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई मंगलबार हस्तान्तरण गरे ।

नवनिर्मित बुथले कोरोनाबाट जुध्नका लागि विभिन्न उपाय अवलम्बन गर्ने क्रममा इञ्जिनीयरले निर्माण गरेको बुथ उदाहरण भएको मन्त्री घिमिरे जानकारी दिए ।

बुथको कोशी अस्पतालबाट एक विज्ञ टिम तयार गरी अध्ययन गरिएको हो । चार फिट चौडाइ र आठ फिट उचाइको प्रविधियुक्त बुथ प्रभावकारी रहेको पिनका अध्यक्ष पौडेलको दाबी छ । सो बुथमा कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गरिनेछ ।

बुथमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनलगायतको विशेषता छ । इञ्जिनीयर पवन झा, इञ्जिनीयर विभास मिश्रा, इञ्जिनीयर विक्रम केसी र इञ्जिनीयर सम्पूर्ण आचार्यले बुथ निर्माण गरेका हुन् ।

सामाजिक विकासमन्त्री घिमिरेले बुथको चावी कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. सङ्गीता मिश्रालाई हस्तान्तरण गरे । कोशी अस्पतालमा गत शुक्रबारदेखि कोरोनाका शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन शुरु भएको छ । रासस