
भक्तपुर, बैशाख २ । मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किएका ५३ को नमूना सङ्कलन गरी कोभिड १९ को परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिएको छ ।
कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमार्फत गरेको तयारीका बारेमा मंगलबार जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सबै वडामा गरेको सर्वेक्षणमा विभिन्न १५ देशबाट फर्किएका ६५ को पहिचान गरी ५३ को नमूना सङ्कलनसहित परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जानकारी दिए ।
बाँकी १२ जनामध्ये केही गाउँ फर्किसकेका र केही सेल्फ क्वारेन्टाइनमा १४ दिन बिताइसकेको जानकारी आएको उनको भनाइ थियो ।
कोरोना भाइरसको परीक्षण गर्ने ‘पोलिमराइज चेन रिएक्सन’ (पिसिआर) मेशिनसहितको ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्वारेन्टाइनसम्म तयारी अवस्थामा राखेको उनले बताए ।
“विदेशबाट आएकाको नमूना सङ्कलन र परीक्षण हाम्रै अस्पतालको ल्याबमा निःशुल्क गरेका छौं, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार १० श्ययाको सुविधायुक्त आइसोलेसन वार्ड तयार छ”, नगर प्रमुख श्रेष्ठले भने, “एक डेलिकेटेड एम्बुलेन्स, एक एक्सरे मेशिन, दुई भेण्टिलेटरसहितको १० श्ययाको आइसोलेसन, २० जना क्षमताको क्वारेन्टाइन र आवासीय सेवासहितको २४ सैँ घण्टा चिकित्सकसहित स्वास्थयकर्मीको टोली तयार छ ।”
अन्य जिल्लामा क्वारेन्टाइनमा बस्ने भागेको पाइएकाले यहाँ भने क्वारेन्टाइन र आइसोलेसनको सुरक्षाको जिम्मा गठ्ठाघरमा रहेको नेपाली सेनाको भैरववाहन गुल्मले लिने व्यवस्था गरिएको छ ।
नगर प्रमुख श्रेष्ठले मध्यपुरथिमिमा पनि अब नमूना सङ्कलन र परीक्षणको दायरा फराकिलो बनाउने बताउँदै छिमेकी पेप्सिकोलास्थित सनसिटी अपार्टमेण्टको घटनाले १४ दिनको रिपोर्टलाई मात्रै आधिकारिकता मान्न नसकिने प्रमाणित भएकाले ३९ दिनदेखि ४३ दिनसम्म होमक्वारेन्टाइनमा बस्नुपर्ने बताए ।
कोरोना सङ्क्रमित बिरामी आएमा आपत्कालीन अवस्थामा प्रयोग गर्ने गरी विभिन्न तीन लेबलका १०० थान पिपिइ (व्यक्तिगत सुरक्षा कवच) भण्डारण गरेको, कीटनाशक औषधि नगरपालिकाभित्र छर्किएको, रु पाँच करोडको आपत्कालीन विपद् कोष निर्माण गरेको, राहत वितरणका लागि प्रत्येक वडालाई रु. पाँच लाख दिएर छ हजार ५०० लाई राहत वितरण सम्पन्न गरेको उनले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. ज्ञानकृष्ण कायस्थले इन्टरपेड नेपालका दुई र अस्पतालका दुई गरी चारजना दक्ष जनशक्ति ल्याबमा परिचालन गरिएको र सामुदायिकरुपमा कोरोना परीक्षण निःशुल्क गरिएको जानकारी दिए । व्यक्तिगतरुपमा आएर परीक्षण गर्दा भने ल्याबमा रु. १२ हजार खर्च हुने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्