
काठमाडौं, वैशाख २ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को ‘न्यारोबडी’ जहाजले ३४ भारतीय नागरिक लिएर नयाँदिल्ली उडेको छ ।
न्यारोबडी ‘ए–३२०’ जहाजले ‘चार्टर्ड’ उडानमार्फत् नेपालमा रोकिएका भारतीय नागरिकलाई लिएर नयाँदिल्ली गन्तव्यमा उडान भरेको निगमले जनाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो नयाँदिल्ली गएको जहाज मंगलबार साँझ ५ः०० बजे स्वदेश फर्कने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
निगमको ‘वाइडबडी’ जहाजले चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा कार्गो उडान गर्ने तयारी गरिरहेको छ ।
यसअघि, चैत २८ गते ग्वाङ्जाओ उड्ने कार्यतालिका रहेपनि अन्तिम समयमा आएर उडान स्थगन गरिएको थियो ।
चीनबाट मेडिकल सामग्री ल्याउन व्यवसायीले वाइडबडी जहाज चार्टर्ड गरेका थिए । अन्तिम समयमा व्यवसायीकै कारण निगमले उडान रोक्नुपरेको थियो ।
‘लकडाउन’को अवधिमा निगमको अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन् । सबैभन्दा बढी उडान गर्ने कतार एअरवेजको १० उडानपछि निगम दोस्रो स्थानमा छ ।
निगमले यो अवधिमा पाँचओटा अन्तर्राष्ट्रिय उडान भरेको छ । यीमध्ये तीन उद्धार उडान र दुई कार्गो उडान हुन् ।
निगमको वाइडबढीले चैत १६ गते चीनको ग्वाङ्जाओबाट ‘कोडिभ–१९’ को १३ हजार केजी मेडिकल सामग्री ल्याएको थियो ।
त्यस्तै, चैत २० गते कोडिभ–१९ को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको वाइडबडी जहाज ग्वाङ्जाओ उडउडेको थियो ।
त्यसैगरी, चैत १९ गते निगमको वाइडबडी जहाज चार्टर्ड उडानमार्फत् अष्ट्रेलियाली र न्यूजिल्यान्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको सहर ब्रिशवन पुगेको थियो ।
चैत २८ गते पनि निगमको वाइडबडी जहाजले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान भरेको थियो । जापान सरकारले निगमको वाइडबडी चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश लगेको थियो ।
वाइडबडी ए–३३० दुई र न्यारोबडी ए–३२० सिरिजको दुईथान जहाजबाट निगमले भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्