२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


शोक र पीडाको पोखरीमा न्यूयोर्क, कोरोनाबाट १० हजारभन्दा बढीको मृत्यु


0
Shares

एजेन्सी, चैत्र ३० । अमेरिकाको न्यूयोर्कमा मात्रै कोरोना भाइरसबाट १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विश्वव्यापी महामारी कोरोनाबाट केन्द्र नै बनेको न्यूयोर्कमा मात्रै करिब दुई लाख व्यक्ति संक्रमित बनेका छन् । त्यहाँ १० हजार ५६ जनाको मृत्यु हुँदा एक लाख ९५ हजारभन्दा बढी व्यक्ति भाइरसबाट संक्रमित बनेका छन् ।

सोमबार थप ६७१ जनाको मृत्यु भएको राज्यका गभर्नर एन्ड्रयू कुओमोले बताएका छन् । १० हजारभन्दा बढीको मृत्युले राज्य पूरै शोकमा रहेको भन्दै गभर्नर कुओमोले महामारीबाट अति भयानक तहको पीडा र शोकमा परेको बताए ।

यद्यपि, पछिल्ला दिनमा संक्रमित भई अस्पताल भर्ना हुनेको संख्यामा भने कमी आएकाले अवस्था विस्तारै नियन्त्रणमा आउनेमा उनी आशावादी देखिए ।

न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टरमा गराइएको आतंकवादी आक्रमणमा भन्दा झण्डै चार गुणा बढीले ज्यान गुमाएका हुन् । उक्त आक्रमणमा २९ सय ७७ जना मारिँदा २७ सय ५३ जना न्यूयोर्कवासी थिए ।

संसारमै सबैभन्दा बढी २३ हजार ६ सयभन्दा मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकाभर संक्रमितको संख्या ५ लाख ८६ हजार नाघेको छ ।