१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


भक्तपुरका ८ अस्पतालमा ९८ आइसोलेशन


0
Shares

भक्तपुर, बैशाख १ । स्वास्थ्य कार्यालय भक्तपुरले कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अवस्था र तयारीबारे अनुगमन थालेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले कारोना सङ्क्रमणको हव अस्पतालका रुपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा. इवामुरा अस्पताल सल्लाघारी, सिद्धिस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन गरेको छ ।

भक्तपुरका आठवटा अस्पतालमा ९८ श्ययाको आइसोलेशन वार्ड तयार गरिएको उनले जानकारी दिए । हाल भक्तपुर अस्पतालमा १०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६, मध्यपुर अस्पताल ठिमीमा प्रस्तावित आठ, काठमाडौँ मेडिकल अस्पताल दुवाकोट शाखामा ७२, डा इवामुरा मेमोरियलमा ६, नागरिक अस्पताल गठ्ठाघरमा तीन र सिद्धि स्मृति अस्पतालमा एक, क्यान्सर अस्पताल दूधपाटीमा प्रस्तावित पाँच गरी ९८ श्ययाको आइसोलेशन वार्ड तयार गरिएको स्वास्थ्य प्रमुख मिजारले जानकारी दिए ।

यसैगरी यिनै अस्पतालहरुको समन्वयमा थप २७ श्ययाको आइसोलेशन वार्डसमेत विस्तार गर्न सकिने अवस्था रहेको उनको भनाइ छ । यी अस्पतालमा २३ श्ययाको आइसियू सञ्चालनको तयारी अवस्थामा रहेको र बाँकी १६ श्यया सञ्चालनका लागि प्रस्तावित अवस्थामा रहेका छन् ।

जिल्लाको हव अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेशन श्यया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिए ।

भक्तपुर अस्पतालले नै १९ श्ययाको सिङ्गो मेडिकल वार्डलाई आइसोलेशन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा गौतमले जानकारी दिए ।

उनले आवश्यक परे त्यहीँबाट सङ्क्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्थासमेत गर्ने जानकारी दिँदै अस्पतालमा सङ्क्रमित आइहालेको अवस्थामा उचित उपचारका लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै आवासीय व्यवस्थासमेत गरिएको बताए ।

काठमाडौँ मेडिकल अस्पतालका डा बिनिता प्रधानले सरकारको स्वीकृति, सहयोग र सहजीकरण पाए कोभिड–१९ का बिरामी उपचारमा प्रयोग गर्न परेमा विशेष अस्पतालका रुपमा सेवा गर्न पनि तयार रहेको बताए । रासस