
नारायणी लामिछाने (इमेज)
काठमाडौं, वैशाख १ । कोरोना प्रभावले नेपालको अर्थतन्त्र पनि खुम्चिने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
कुल ग्रार्हस्थ उत्पादन घट्ने र त्यसबाट आर्थिक वृद्धिदर २.८ देखि १.५ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ ।
अर्थ मन्त्रालयले भने अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भन्ने निष्कर्ष निकाल्न सकेको छैन ।
कोरोना संक्रमणको असर पर्यटन तथा रेमिट्यान्समा परेको छ भने तीन सातादेखि भइरहेको ‘लकडाउन’ले उद्योगधन्दा सबैजसो बन्द अवस्थामा छन् ।
यसअघि, एसियाली विकास बैंक (एडीबी)ले आर्थिक वृद्धिद्धर ४.३ प्रतिशतसम्म खुम्चन सक्ने प्रक्षेपण गरेको थियो । विश्व बैंकले भने एडीबीकोभन्दा निराशाजनक प्रक्षेपण गरिदिएको छ ।
अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकले कोरोना प्रभावको अध्ययन गरिरहेका छन् ।
लकडाउन कति समयसम्म रहन्छ, त्यति नै प्रभाव पर्ने भएकाले पनि सरकारले आफ्नो निष्कर्ष प्रष्ट्याउन नसकेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्री अहिले अध्ययन भइरहेको र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारी गरिरहेको बताउँछन् ।
कोरोनाले शिथिल बनाएको आर्थिक गतिविधिलाई पुरानै अवस्थामा ल्याउन मौद्रिक नीतिमा समेत छुट्टै व्यवस्था गर्नुपर्ने तथा नीति तथा कार्यक्रममा समेत छुट्टै व्यवस्था गर्नुपर्ने अर्थविद् डा. विश्वम्भर प्याकुरेल बताउँछन् ।
सरकारले यो बेला हरेक हप्ता प्रभावबारे लगत संकलन गर्नुपर्ने र प्रभावित क्षेत्रबारे अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।
सरकारले सबैभन्दा प्रभावित होटल तथा पर्यटन क्षेत्रलाई तत्काल सम्बोधन गर्नुपर्ने र उत्पादनलगायतका अन्य क्षेत्रलाई प्राथमिताअनुसार सम्बोधन गर्दै जानुपर्नेमा डा. प्याकुरेल जोड दिन्छन् ।
अब साना तथा मझौला उद्योगहरुलाई प्राथमिता दिएर रोजगारी सिर्जनामा रणनीति बनाउनुपर्नेमा पनि उनको सुझाव छ ।
नयाँ बजेट निर्माणको चरण पनि सुरु भएकाले सरकारले विज्ञहरुको कुरा सुनेर अघि बढ्नु पर्दछ ।
सामान्य अवस्थामा जस्तो मनपरी कार्यक्रम थोपर्ने भन्दा पनि अर्थतन्त्रलाई कसरी जोगाउने भन्नेतर्फ सरकारको ध्यान जानु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्