
बासुदेव बर्मा
कपिलवस्तु, साउन २८ । भारतबाट अवैध तरिकाले भित्र्याइने पंक्षीजन्य बस्तुहरुबाट बर्डफ्लु रोगको जोखिम रहेको भन्दै जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायत एक दर्जन सीमानाकामा प्रहरीले बिशेष कडाइ तथा निगरानी बढाएको छ ।
यसै क्रममा आईतबार जिल्लाको कृष्णानगर नगरपालिका–८ गणेशपुर स्थित कृष्णनगर– चन्द्रौटा सडक खण्डमा कृष्णनगर नाकाबाट चन्द्रौटातर्फ अवैध तरिकाले ५ वटा मोटरसाईकलमा भित्र्याइएका ३ हजारभन्दा बढी कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा चल्ला बरामद गरेको हो । बरामद चल्लालाई कृष्णानगर नगरपालिका–८ का वडाध्यक्ष नुर मोहम्मद मुसलमान, पशु क्वारेन्टाईन भैरहवाका डाक्टर अखिलेश्वर पाण्डे, स्थानीय पत्रकार र स्थानीयबासीको रोहबरमा इलाका प्रहरी कार्यालय बहादुरगंज परिसरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताएका छन् ।
कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेता अन्डा, दाना लगायतका सामाग्रीहरु तस्करहरुले अवैध तरिकाले लुकीछिपी नाकाहरुबाट भित्र्याउने गरेका छन् । नेपालमा भन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करहरुले बढी मुनाफा आर्जन गर्न सेतो अन्डा र चल्ला भित्र्याउने गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्