२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


सप्तरीमा द्रुत परीक्षण शुरु, ३८ नेगेटिभ


0
Shares

सप्तरी, बैशाख १ । सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ ।

क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

राजविराज नगरपालिकामा चार जना, कञ्चनरुप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमूना परीक्षण गरिएकामा सबै जनाको रिपोर्ट नेगेटिभ आएको  कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सोमबार आठ जना स्वास्थ्यकर्मीको चार वटा टोली बनाई विभिन्न क्वारेन्टाइनमा पठाइएको सो कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वारेन्टाइनमा निगरानीमा बसेका व्यक्तिको परीक्षण गरिनेछ ।

हाल जिल्लाको विभिन्न ३२ वटा क्वारेन्टाइनमा पाँच महिलासहित २४७ जना छन् । सो अवधिमा क्वारेन्टाइनबाट घर फर्किसकेका २११ जनाकोसमेत सम्बन्धित स्थानीय तहमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने उनले जानकारी दिए ।

सरकारले ‘र्‍यापिड टेष्ट’ विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेसँगै किट उपलब्ध गराएपछि सो विधिबाट परीक्षण शुरु भएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’मा जचाउँन आएका व्यक्तिमा ‘र्‍यापिड टेस्ट’ विधिको प्रयोग शुरु गरिएको छ ।

अस्पताललाई १६०, स्वास्थ्य कार्यालयलाई ६०० र कञ्चनरुप स्वास्थ्य चौकीलाई १०० थान किट उपलब्ध भएको स्वास्थ्य कार्यालयले जनाएको छ । किट उपलब्ध हुनासाथ परीक्षण शुरु भएको जनाउँदै प्रमुख मेसु डा. दासले मलेरियाको परीक्षण पनि सँगै गरिने बताए ।

उनका अनुसार क्वारेन्टाइनमा निगरानीमा रहेकाको १४औँ दिन परीक्षण गरिनेछ । रिपोर्ट नेगेटिभ आएमा थप सात दिन क्वारेन्टाइनमा राखिनेछ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखी पिसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिनेछ । रासस