३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


ओपेक, तेल उत्पादक राष्ट्रहरुबीच तेल उत्पादन कटौती गर्न सहमति


0
Shares

दुबई, वैशाख १ । ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुबीच आइतबार प्रतिदिन झन्डै एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्न सहमति भएको छ ।

विश्वको हाल दैनिक उत्पादित तेलको यो १० भागमा एक भाग हो ।

कोरोनाभाइरसको महामारीका कारण तेलको माग घटेपनि खासगरी साउदी अरेबिया र रसियाले उत्पादन नघटाएपछि खनिज तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा व्यापकरुपमा घटेको थियो ।

अमेरिकी ऊर्जामन्त्री ड्यान ब्राउलिटले एक दशकयता यति ठूलो परिमाणमा ओपेकले तेलको उत्पादन घटाएको सम्भवतः यो पहिलोपटक रहेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया र रसियाबीच जारी तेलको बजारभाउको युद्ध अन्त्य गर्न मध्यस्थता गरेकै कारण उत्पादन कटौतीमा सहमति जुटेको पनि उनले बताए ।

कोरोनाभाइरसका कारण विश्वभर मानिसको यात्रामा कमी आएको तथा तेलको उच्च माग हुने उत्पादन क्षेत्रमा काम लगभग ठप्प भएका कारण तेलको मूल्यमा व्यापक गिरावट आएको थियो ।

यही कारण अमेरिकी तेल उद्योग पनि नराम्रोसँग संकटमा फसेको छ । अमेरिकामा हाल विश्वका अन्य कुनै मुलुकमा भन्दा बढी कच्चा तेल उत्खनन् हुने गरेको छ ।

तर, कतिपय तेल उत्पादकहरु आपूर्तिलाई सहज बनाउन त्यति इच्छुक देखिएका छैनन् ।

तेल उत्पादकहरुबीच आइतबार भएको सहमतिमा मेक्सिकोलाई प्रतिमहिना एक लाख ब्यारेलमात्र उत्पादन कटौती गर्न भनिएको छ ।

ओपेकका सदस्यसहित कुल २३ राष्ट्रबीच भएको सहमतिअनुसार मे र जुन महिनामा प्रतिदिन ९७ लाख ब्यारेल तेल उत्पादन कटौती हुनेछ ।

एसियाली सेयरबजार खुला हुनुभन्दा ठीकअगाडि भएको यस सम्झौताको एसियामा मिश्रित असर परेको देखिएको छ ।

ब्रेन्ट कच्चातेलको बजारमूल्य प्रतिब्यारेल ३१ अमेरिकी डलरको आसपासमा रहेको छ । तर, अमेरिकी कच्चा तेलको मूल्यमा खासै फेरबदल देखिएको छैन ।

ओपेक, रसिया र अन्य तेल उत्पादकबीच भएको सम्झौतालाई साउदी ऊर्जामन्त्री अब्दुलाजीज बिन सल्मानले हस्ताक्षर गरेका थिए ।

नाइजेरियाली ऊर्जा मन्त्रालयले जारी गरेको वक्तव्यमा उत्पादन कटौतीपछि तेलको मूल्यमा तत्कालै प्रतिब्यारेल कम्तीमा १५ अमेरिकी डलर वृद्धि हुने उल्लेख छ ।

उत्पादन कटौतीप्रति सुरुमा विमति राखेको मेक्सिकोले अमेरिकाले तेल कटौतीबाट उत्पन्न हुनसक्ने प्रभाव न्यूनीकरण गर्न सघाउने आश्वासन प्राप्त भएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन्–‘ओपेक प्लससँग ठूलो सम्झौता भएको छ । यसले ऊर्जा क्षेत्रमा लाखौं अमेरिकीको रोजगारी जोगिएको छ । म यसका लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरेबियाका राजा सल्मानलाई धन्यवादसहित बधाइ दिन चाहन्छु ।’

रसियाली राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिनले सम्झौताको कार्यान्वयनका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी राजा सल्मानसँग आग्रह गरेको जनाएको छ ।

रेमन्ड जेम्समा कार्यरत् ऊर्जा विश्लेषक मोहम्मद गुलामले पछिल्लो सम्झौता ऊर्जा उद्योग तथा विश्व अर्थतन्त्रका लागि कम्तीमा एउटा अस्थायी राहत भएको टिप्पणी गरे ।

उनले भने–‘यो उद्योग विशाल छ र गठबन्धनका मुलुकहरुले सम्झौतामार्फत् जिम्मेवारी प्रदर्शन गरेका छन् ।’ रासस/एपी