
काठमाडौं, चैत ३० । नेपाल उद्योग वाणिज्य महासंघले कोरोनाबाट प्रभावित उद्योग व्यवसायको उद्धारका लागि नेपाल राष्ट्र बैंक समक्ष कर्जाको ब्याजदर ३ प्रतिशत विन्दुले घटाइनुपर्ने लगायतका माग अघि सारेको छ ।
महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलले आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष मौद्रिक उपकरण लगायत अरू कुनै व्यवस्था गरी सबै प्रकारको कर्जाको ब्याजदर ३ प्रतिशत बिन्दुले घटाइनु पर्ने लगायतका ८ बुँदे मागपत्र बुझाएको हो ।
लकडाउन समाप्त भए पछि कम्पनी खुले पनि नगद प्रवाहको व्यवस्थापन गर्न अत्यन्त चुनौतिपूर्ण हुने भएकोले पुनरकर्जाको व्यवस्थाका लागि पनि महासंघले केन्द्रीय बैंकको ध्यानाकर्षण गरेको छ ।
बैक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा स्वीकृत गरी ऋण लिई पौष मसान्तसम्म नियमित कारोबार गरिरहेका कम्पनीलाई स्वीकृत सीमा भन्दा बढीमा १० प्रतिशतसम्म थप कर्जा दिन सक्ने व्यवस्था तत्कालै गरिनु पर्ने महासंघको माग छ ।
ऋणीले उक्त थप कर्जा १२० दिन भित्र चुक्ता गर्ने व्यवस्था मिलाइनु पर्ने महासंघको सुझाब छ । नेपाल राष्ट्र बैंकबाट २०७६ चैत्र १६ गते जारी गरेको निर्देशन अनुसार ऋणीले २०७६ चैत्र मसान्त सम्म बुझाउनुपर्ने किस्ता भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट हुने व्यवस्था छ ।
यसमा सबै प्रकारका कर्जाहरूको व्याजमा १० प्रतिशत छुट दिइनु पर्ने महासंघको माग छ । हाललाई ऋणीको खाताबाट स्वतः मौज्दात रकम कट्टी नगर्ने व्यवस्था गरिनु पर्ने उसको भनाइ छ । स्प्रेड दर आधा प्रतिशत विन्दुले घटाउनुपर्ने, सिसिडि रेसियो खुकुलो गर्नुपर्ने लगायतका माग पनि महासंघको छ ।
गभर्नर अधिकारीले कोरोनाको कारण मुलुकको अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको उल्लेख गर्दै महासंघले बुझाएको सुझावले थप सहज हुने बताउनुभयो । यी सुझावलाई कार्यान्वयनमा लैजान आफूले सहयोग गर्ने आश्वासन उनले दिए ।
प्रतिक्रिया दिनुहोस्