
कञ्चनपुर । महाकाली र जोगबुढा नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको महाकाली नगरपालिकाका विभिन्न स्थान डुवानमा परेका छन् ।
शनिबार रातिदेखि परेको पानीका कारण महाकाली नगरपालिका वडा नं. ८, ९ र १० का बस्ती डुवानमा परेका हुन् । बाढी टोलमा पसेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।
उनीहरुलाई प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ ।
भारतीय पक्षले धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको पानी जोगबुढा नदीमा छाडेपछि शान्तिटोल, गिरी टोल, गुरुङ टोल, कुतियाकबरलगायतका बस्ती डुवानमा परेको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिंजालीले बताए ।
भारतीय पक्षले धार्चुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोका खोलेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।
पानी पर्ने क्रम नरोकिएको र भारतीय पक्षले बाँधका ढोका खोलेकाले नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाकाली नदीमा पानीको बहाव १ लाख ५ हजार क्यूसेक पुगेपछि भारतीय पक्षले महाकाली पुलमा चारपाङ्ग्रे सवारीका साधन आवागमनमा रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्