१० खेलाडीलाई बाहिर राख्दै एसियन कप छनोटका लागि राष्ट्रिय टोली घोषणा « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


१० खेलाडीलाई बाहिर राख्दै एसियन कप छनोटका लागि राष्ट्रिय टोली घोषणा


598
Shares

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट १० खेलाडीलाई निकालेको विवाद समाधान हुनुअघि आसन्न एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

अल्मुताइरीले शुक्रबार विद्रोही खेलाडीलाई बाहिर राखेर ठूला प्रतियोगिता खेल्ने टिम घोषणा गरेका छन् । बैशाख १२ गते प्रशिक्षक अल्मुताइरीको निर्देशनमा खेलाडीहरूले बन्द प्रशिक्षण छाड्नुपरेको बताउँदै आएका छन् ।

घटनाबारे अखिल नेपाल फुटबल संघ एन्फाले गठन गरेको तीन सदस्यीय छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । तर, विवादको केहिदिन पछि प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कारबाही नगर्न एन्फालाई आग्रह गरेका थिए ।

अल्मुताइरीले आसन्न एसियन कप छनोटका लागि उनीहरू आफ्नो टिममा नअट्ने प्रष्ट पारिसकेका थिए ।

राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर राख्दै प्रशिक्षक अल्मुताइरीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

विकास तामाङ, शिव गुरुङ, निरकुमार राई र रोशन रानामगरले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । कम अनुभवी नेपाली टोलीले एसियाली पावरहाउस देशहरूसँग एसियन कप छनोट तेस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नेपाल रहेको समूह ए मा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र ३१ गते इण्डोनेसियासँग खेल्दैछ ।