
चितवन, असार २ । नारायणगढ–मुग्लिन सडकखन्ड विस्तारको काम सकिएसँगै चितवनको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ ।
पर्यटन व्यवसायीहरुले बर्खाको समयलाई ‘अफ सिजन’ मान्ने गरेपनि बाटोको सहजतासँगै पर्यटकहरुको चहलपहल भने बाक्लिँदै गएको छ ।
नारायणगढ–मुग्लिन सडकखन्ड विस्तारको काम समयमै नसकिँदा पर्यटक आउन छाडेको भन्दै चिन्तामा परेका सौराहाका पर्यटन व्यवसायीहरु अहिले खुसी देखिएका छन् ।
सौराहामा अहिले भारतीय र चिनियाँ पर्यटकहरु बढी मात्रामा देख्न पाइन्छ । सौराहाको पव क्षेत्रमा बिहान र बेलुका पर्यटकहरुको चहलपहल बाक्लै देख्न सकिन्छ ।
नारायणगढ–मुग्लिन सडकखन्डमा घन्टौं जाममा बस्नुपर्ने भएपछि सौराहामा विदेशी एवं स्वदेशी पर्यटकलाई आउन असहज हुँदा व्यवसायीहरु समस्यामा परेका थिए ।
अहिले सडक सहज भएसँगै सौराहाका होटलहरुको ‘अकुपेन्सी’ दर बढेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
उनकाअनुसार गत वर्ष यही समयमा १० देखि १५ प्रतिशत रहेको होटलको अकुपेन्सी दर अहिले २० देखि २५ प्रतिशत पुगेको छ ।
अब दसैं–तिहारलगत्तै पर्यटकहरु सौराहामा बढ्ने आशा व्यवसायीहरुले गरेका छन् ।
विगतमा भूकम्प, नाकाबन्दी, गएको साउनमा आएको बाढी र डुबान तथा नारायणगढ–मुग्लिन सडकका कारण धरापमा परेको यहाँको पर्यटन व्यवसाय अब सुध्रिने दिशामा गएको भन्दै व्यवसायीहरु उत्साही देखिएका छन् ।
सौराहामा करिब ११० ओटा होटल छन् भने रेस्टुराँ तथा बार एसोसिएसन (रेवान)अन्तर्गत् सौराहामा ५२ ओटा रेस्टुराँ आवद्ध छन् ।
यस्तै, चितवन राष्ट्रिय निकुञ्जमाा घुम्न आउने पर्यटकको संख्यासमेत वृद्धि हुन थालेको छ ।
निकुञ्जकाअनुसार चालू आर्थिक वर्षको १० महिनामामात्र एक लाख ३३ हजार १७१ पर्यटकले निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुमेका छन् । गत आर्थिक वर्षभरिमा एक लाख ३९ हजार ९७८ पर्यटकले निकुञ्ज घुमेका थिए ।
प्रतिक्रिया दिनुहोस्