२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बर्षाले कच्ची सडकको बेहाल, यात्रुलाई सास्ती


0
Shares

विनोद सिंह विष्ट

बैतडी, जेठ २८ । केही दिनदेखिको बर्षाले बैतडीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । लगातारको बर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा तथा हिलाम्मे हुँदा ग्रामीण सडकहरु अवरुद्ध भएका हुन् ।

सिल्लेगडा–कटौजपानी सडकखण्डको ठाउँठाउँमा पहिरो खस्दा १५ दिनदेखि सडक अवरुद्ध बनेको महाकाली यातायातका सिल्लेगडाका बुकिङ क्लर्क दशरथ चन्दले जानकारी दिए । ‘उक्त सडक स्तरोन्नतिको काम हुँदा हिलाम्मे भएको छ,’ उनले भने, ‘मिन्नोला लगायतका ठाउँमा पहिरो खसेको छ ।’

मेलौलीदेखि शर्माली तथा पञ्चेश्वर सडक पनि हिलाम्मे हुँदा १५ दिनदेखि सवारी साधन चलाउन नसकिएको जीप सञ्चालक वीरेन्द्र महताले जानकारी दिए । पाटनदेखि मेलौलीसम्म जीप सञ्चालनमा रहे पनि मेलौलीभन्दा तल जीप सञ्चालन हुन नसकेको उनले बताए ।  पानी पर्दा सडक हिलाम्मे भएर सवारी साधन चलाउन सकिने अवस्था नरहेको उनको भनाइ छ ।

सतबाँझ–श्रीभावर सडकमा पनि बिगत ३ दिनदेखि जीप सञ्चालन हुन नसकेको महाकाली यातायात सतबाँझका बुकिङ क्लर्क कर्णबहादुर पाण्डेयले जानकारी दिए । 

देहीमाण्डौं–गिरेगडा सडकखण्डमा सवारी साधान सञ्चालनमा रहे पनि यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका महाकाली यातायात देहिमाडौंमा बुकिङ क्लर्क भुपेन्द्र बहादुर चन्दले जानकारी दिए ।  

बैतडीका अधिकांस सडक पानी पर्दा बन्द हुने गरेका छन् । जिल्लाको पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट, सतबाँझ–श्रीभावर, देहीमाण्डौं–गिरेगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाललगायतका सडकहरुमा बर्षातको समयमा गाडी चलाउन निकै समस्या हुने गरेको व्यवसायीहरु बताउँछन् ।