१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


खेलाडीसँग ‘भिडियो कन्फरेन्स’मार्फत् छलफल


0
Shares

काठमाडौं, चैत २८ । नेपाल ओलम्पिक कमिटीले शनिबार टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, ‘वाइल्ड कार्ड’का लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा संघसँग ‘भिडियो कन्फरेन्स’ छलफल गरेको छ ।

‘लकडाउन’मा खेलाडी, प्रशिक्षकको अवस्था बुझ्न र उनीहरुलाई केही समस्या परेको भएको समाधानसमेत गर्ने उद्देश्यले भिडियो कन्फरेन्स गरिएको हो । 

‘कोभिड–१९’ का कारण यही चैत ११ देखि लकडाउन भएकाले खेलाडी घरभित्रै हुँदा उनीहरुलाई मानसिक, शारीरिकरुपमा तन्दुरुस्त राख्न  विभिन्न चरणमा भिडियो कन्फरेन्समार्फत् छलफल गरिएको छ ।

छलफलपछि पोषणविद्सँग नियमित सम्पर्क गराएर खेलाडीको खेलअनुसारको ‘डाइट’ दिनेलगायतको कार्य हुनेछ भने कमिटीले बनाएको डाक्टरको समूहले अनुगमन गर्ने छन् ।

कमिटीले आइतबारबाट खेलाडी तथा प्रशिक्षकका लागि मनोवैज्ञानिक कक्षा अनलाइनमार्फत् सञ्चालन गर्ने छ ।

छलफलमा सहभागी खेलाडी, प्रशिक्षकले ‘एनओसी’ले अप्ठ्यारो परिस्थितिमा अभिभावकत्व ग्रहण गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले ओलम्पिक २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म हुने भएकाले यसलाई अवसरका रुपमा लिनका लागि आजैबाट परिस्थितिलाई बुझेर काम गर्नुपर्ने बताए ।

ओलम्पिकका लागि ५ जुलाईसम्म अन्तिम ‘इन्ट्री’को समय रहेको छ ।

सो छलफलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले १३औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलाडीका लागि घोषणा गरिएको पुरस्कार राशि उपलब्ध गराउन थालिएको जानकारी गराए ।

ओलम्पियन दीपक विष्टले खेलाडीले जस्तो परिस्थितिमा पनि अभ्यास गर्न सक्नुपर्ने विचार व्यक्त गर्दै खेलाडीले घरमै बसेर अभ्यास गरिरहेको र सामाजिक दायित्व पूरा गर्ने कामसमेत भइरहेको जानकारी गराए ।

छलफलमा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले प्रशिक्षकसँग अनलाइनमार्फत् छलफल गरेर घरभित्रै अभ्यास गरिरहेको बताइन् ।

डा. सरोजकृष्ण श्रेष्ठले घरभित्रै बस्ने र केही समस्या भएर डाक्टरसँग परामर्श लिन आग्रह गरे । रासस