१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


जुम्लामा कोरोना रोकथामका लागि ६ करोडको बजेट


0
Shares

जुम्ला, चैत २८ । विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न जुम्लामा रु छ करोड नौ हजार बजेटको व्यवस्था भएको छ ।

यहाँको एक नगरपालिका, सात गाउँपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय प्रशासनमा कोरोना रोकथाम गर्न बजेट व्यवस्थापन भएको हो ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण उपचार र राहतका लागि जुम्लाका स्थानीय तहले १० लाख देखि एक करोडका कोरोना विपत कोष बनाएका छन् ।

यसअघि चालु आर्थिक वर्षमा विपत कोषका लागि सवै स्थानीय तहले १०/१० लाख बजेट विनियोजन गरेपनि कोरोना विरुद्धको कोषमा थप बजेट विनियोजन गरेका हुन् ।

यहाँका स्थानीय तहले कोषमा बजेट कम हुने भएपछि जनप्रतिनिधिले बैठक भत्तादेखि कर्मचारीका तलब पनि कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

चन्दननाथ नगरपालिकाले एक करोड, सिञ्जा गाउँपालिकाले रु एक करोड नौ हजार, कनकासुन्दरी गाउँपालिकाले ६० लाखको कोरोना विपत कोष स्थापना गरेको छ ।

त्यसैगरी गुठीचौर गाउँपालिकाले २० लाख, पातारासीले १० लाख, हिमाले १० लाख, तिलाले १० र तातोपानीले १५ लाखको कोरोना विपत कोष बनाएका हुन् ।

नगरकार्यपालिकाको बैठकले कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार स्वरुप एक करोडको कोष स्थापना गरेको नगरप्रमुख कान्तिका सेजुवालले बताए । 

सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचारका लागि पालिकाले एक करोड नौ हजार बजेटको कोष स्थापना गरेको छ ।

कोषमा सबै कर्मचारीको एक दिनको तलब र जनप्रतिनिधिको एक महिनाको बैठक भत्ता जम्मा गरिने उनले बताए । दुई हजार ५०० घरधुरीलाई प्रति घरधुरी ३० केजी चामल, नुन र तेल एक हप्ता भित्रै बितरण गरिने तयारी भएको गाउँपालिका प्रवक्ता नविन शर्माले बताए । रासस