
एजेन्सी । इटालीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले जानकारी गराएको छ ।
इटालीमा कोभिड–१९ को सङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको छ, संस्थाका प्रवक्ताले बताए ।
मृतकमध्ये सेवा निवृत्त चिकित्सक, जसलाई सरकारले सङ्क्रमणको महामारीमा सघाउन आह्वान गरेको थियो, सहित भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेका छन् ।
इटालीमा कोभिड–१९ को सङ्क्रमणबाट १८ हजार २०० व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन् ।
“हामीले लामो समयसम्म हाम्रा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोभिड–१९ को महामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौँ । त्यसैले हामीले कर्तब्य पालनाका शिलशिलामा धेरै सहकर्मीलाई गुमाउनु परेको हो ।”
संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भने, “यो कोरोनाविरूद्धको सङ्घर्षमा हामी चुकेको क्षण हो ।”
रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेका अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्