
सिल्धुपाल्चोक । तातोपानी पुनः सञ्चालनमा आएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको ‘हेल्थ डेस्क’ राखेर हिजो साँझबाट नाका सञ्चालनमा गरिएको हो ।
नाकाबाट पहिलो लटमा मास्क र सेनिटाइजर भित्रिएका छन् । प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीको छलफल पछि सुरक्षित रूपमा नाका खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।
उनले बिएम डेर्डीका व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले आवश्यक परीक्षण गरेर नेपाली चेकपोस्ट ल्याइदिएको जानकारी दिए ।
७५ सय वटा मास्क र ५ सय सेनिटाइजर हेल्थ डेस्कमा जाँचेर भन्सार कार्यालयको यार्डमा लगिएको थियो । नाका र झिर्पुमा गरी १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार राखिएको छ ।
मितेरी पुलपारि चीनतर्फ पनि विशेष स्वास्थ्य टोली तयारी अवस्थामा राखिएको र त्यहाँ चालकको स्वास्थ्यदेखि सवारीसाधन र तिनमा ल्याइएका सामग्रीको सुरक्षा जाँच गरिन्छ ।
चीनबाट भित्रिएका मास्क र सेनिटाइजर नाकामा कीटनाशक औषधि छर्केर काठमाडौं पठाइएको बताइएको छ ।
कोरोना संक्रमणको जोखिम बढेपछि गत माघ १३ गतेदेखि तातोपानी नाका बन्द थियो ।
प्रतिक्रिया दिनुहोस्