
रुपन्देही, चैत २६ । लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।
दुई वर्षदेखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको अस्पतालले बिहीबारदेखि कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको बनगाईसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको हो ।
नियमित रुपमा मिर्गौलाको डायलोसिस गर्न आउने कतिपय बिरामी लकडाउनका कारण महँगो भाडा तिरेर एम्बुलेन्समार्फत अस्पताल आउनुपरेको थियो भने कतिपय बुटवलमै कोठा भाडामा लिएर बस्न बाध्य थिए ।
हप्तामा दुईपटक डायलोसिस गराउनुपर्ने भए पनि कतिपय कपिलवस्तुका बिरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमले अधिकांश बिरामीले हप्तामा दुई दिन मिर्गौला डायलोसिस गर्नुपर्ने अवस्था भएकाले हरेक साता बिहीबार र सोमबार कोइली बनगाईसम्म बस सञ्चालन गर्न लागिएको जानकारी दिए ।
डायलोसिसका लागि बिहान अस्पताल ल्याइएका बिरामीलाई डायलोसिस गरिसकेपछि साँझ बनगाईसम्म छाड्ने व्यवस्था गरिएको अध्यक्ष आलमले बताए ।
कपिलवस्तुसम्म बस सेवा सञ्चालन हुने भएपछि बुटवलदेखि पश्चिम सैनामैना, सालझण्डी, रुद्रपुरसमेतका सबै बिरामीलाई राहत मिल्ने छ । हाल बुटवलदेखि पश्चिम कपिलवस्तुसम्मका ६४ बिरामी नियमित डायलोसिसका उक्त अस्पतालमा आउने गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्