३० असार २०८२, सोमबार | Tue Jul 15 2025


बबरमहलमा पाइन्छ १७५ रुपैयाँमा १०० एमएलको स्यानिटाइजर


0
Shares

नारायणी लामिछाने (इमेज)

काठमाडौं, चैत २६ । नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ ।

बजारमा स्यानिटाइजरको अभाव भएपछि बबरमहलस्थित कम्पनीले उत्पादन सुरु गरेको हो ।

तर, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले भने सहयोग नगरेको औषधि लिमिटेडले जनाएको छ ।

कोरोना संक्रमणको त्रास बढेसँगै यतिबेला बजारमा स्यानिटाजरको माग ह्वात्तै बढेको छ । सहजरुपमा स्यानिटाइजर पाउन पनि गाह्रो छ ।

बजारमा देखिएको अभावलाई पूर्ति गर्न सरकार मातहतको नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ ।

अहिले १०० एमएलको १५ देखि २० हजार बोतलसम्म उत्पादन थालिएको छ ।

कम्पनीले बजार मागको अवस्था आँकलन गर्न नसक्दा र सम्बन्धित निकायको असहयोगले पूर्ण क्षमतामा काम गर्न नसकेको जनाएको हो  ।

हाल कम्पनीसँग ३० हजार बढी बोतल स्यानिटाइजर मौज्दात रहेको छ ।

विश्व स्वास्थ संगठनको मापदण्डअनुसार कुनै व्याक्टेरिया वा भाइरस निर्मुल गर्न स्यानिटाइजरमा अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्छ । कम्पनीले सोही मापदण्डअनुसार नै उत्पादन गरिरहेको छ ।

कम्पनीले उत्पादन गरिरहेका यी स्यानिटाइजर बजारमा विभिन्न्न अस्पताल तथा सरकारी निकायले खरिद गर्न थालेको कम्पनीले जनाएको छ ।

१०० एमएलको स्यानिटाइजरको बजार मूल्य १७५ रुपैयाँ तोकिएको छ ।

दैनिक ५० हजार बोेतल उत्पादन गर्नसक्ने क्षमता भएपनि आगामी दिनमा बजार माग कस्तो हुने हो भन्ने आँकलन गर्न नसक्दा उत्पादनको मात्रा घटाइएको नेपाल औषधि लिमिटेडका स्टोर प्रमुख दिनेश भट्टराईको भनाइ छ ।

उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहयोगको अभावमा कम्पनीले पूर्ण क्षमतामा काम गर्न नसकेको पनि बताए ।

माग बढेको बेला निजी कम्पनीहरुले जथाभावी चर्को मूल्य राखेर स्यानिटाइजर बेचिरहँदा नेपाल औषधि लिमिटेडको उत्पादनले उपभोक्तालाई राहत दिने देखिन्छ ।